कोरोना उपचारमा संलग्न चिकित्सकको प्रशंसा

0
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

नेपाल चिकित्सक संघले सम्पूर्ण नागरिकहरुको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै कोरोनाको संक्रमणले दोस्रो चरणमा प्रवेश गरेको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।

अहिले नेपाल कोरोना भाइरसको संक्रमणबाट ग्रसित भई दोस्रो चरणमा प्रवेश गरेको छ । यस्तो बिषमपूर्ण अवस्थामा संक्रमणबाट जोगिनका लागि नेपालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै सिमित स्रोत साधनका बाबजुद पनि निर्वाह गर्नु भएको अतुलनिय योगदानप्रति नेपाल चिकित्सक संघ उच्च प्रशंसा गर्दै यस नयाँ बर्षको आगमनसँगै कोरोना भाइरस संक्रमणलाई रोक्न सक्ने क्षमता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछ ।

यस संक्रमणबाट सारा नेपाली नागरिकहरुलाई जोगाउनका निमित्त २०७७ सालको आगमनसँगै आक्रामक र पारदर्शीरुपमा सूचना प्रवाह गर्ने, ठूलो संख्यामा परीक्षण गर्ने, संक्रमित र जोखिम भएको व्यक्तिलाई आइसोलेशन र क्वारेन्टाइनमा राख्ने, आवश्यक व्यक्तिलाई उपचार गर्ने र संक्रमित स्थान र वातावरणलाई संक्रमणरहित बनाउने अभियानलाई द्रुत रुपमा अगाडी बढाउन नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।

त्यसका साथै सम्पूर्ण नागरिकहरु एकान्तवासमा बस्ने, सामाजिक दूरी कायमलाई कडाइका साथ लागू गर्ने तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई आवश्यक मात्रामा गुणस्तरीय पिपिइहरु उपलब्ध गराई यो महामारीसँग लड्नका लागि हौसला प्रदान गर्न समेत सरोकारवाला निकायमा संघले अनुरोध गरेको छ ।