५० जनाको स्वाब संकलन, सबै नेगेटिभ


नेपाल समाचारपत्र, काठमाडौं

ललितपुरको गोदावरीमा विदेशबाट आएका र त्यस्ता व्यक्तिको सम्पर्कमा पुगेका व्यक्तिहरूको स्वाब संकलन गरी परीक्षण गरिएको छ । गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार र्यापिड टेस्ट विधिबाट परीक्षण गरेको हो ।

विदेशबाट आएको १४ दिन नाघेको र ३० दिनभित्रका ५० जनाको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य शाखा प्रमुख शत्रुधन शाहले जानकारी दिनुभयो । उहाँले परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको बताउनुभयो ।

‘विदेशबाट आएका र उसको सम्पर्कमा पुगेका नगरबासीलाई परीक्षणका लागि डाकेका थियौं, करिब ५० जनाको परीक्षण भयो । ती सबैको रिजल्ट कोभिड–१९ नेगेटिभ आएको छ।’ –उहाँले भन्नुभयो ।

परीक्षण भएका मध्ये २९ जना पुरुष र २१ जना महिला रहेको जनाइएको छ, जसमा १९ महिनाको बालकको पनि स्वाब लिइएको थियो । नगरले वज्रवाँरही विद्यालय र सिद्धेश्वर आधारभूत विद्यालयमा स्वाब परीक्षण गरेको थियो ।

स्वाब लिइएका मलेसिया, अस्ट्रेलिया, लन्डन, बंगलादेश, भारत, सिंगापुरलगायतका मुलुकबाट फर्केका थिए । उनीहरूलाई नियमितरुपमा नगर र वडास्तरीय समितिले प्रत्यक्ष निगरानीमा राखेको नगरका स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो ।

उनीहरू सबै सामाजिक दूरी कायम राख्दै सेल्फ क्वारेनटानमा रहेको उहाँको दाबी छ । उनीहरू सबै सामान्य अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।

नगरले एक सूचना जारी गर्दै विदेशबाट आएका १४ दिन नाघेका ३० दिनभित्रका मानिसलाई परीक्षणका लागि डाकिएको थियो । नगरले ७३ जना मानिसहरू विभिन्न मुलुकबाट नगरमा फर्केकाको पहिचान गरेको थियो।

आइतबार विदेशबाट फर्केका थप दुई जनाले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्य शाखाका उपप्रमुख केशव खड्काले जानकारी दिनुभयो ।