वीरगन्जको मस्जिदमा प्रहरीको छापा, २६ जना धर्मगुरु क्वारेनटाइनमा


कृष्णउदास खनाल, वीरगन्ज

पर्साको वीरगन्ज छिमेकी देश भारतसँग सीमा जोडिएको शहर हो । अहिले वीरगन्ज भन्सार र भारतीय शहर रक्सौलमा नाकाबन्दी गरिएका कारण मात्रै हो नत्र वीरगन्ज र रक्सौल पानी पँधेरो नै हो दुवै देशका नागरिकका लागि । विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नेपालमा भन्दा पहिला भारतमा कोरोनाले गाँज्न थाल्यो अनि भारतले लकडाउन गरेपछि केही भारतीय रातारात नेपाल आए ।

केही चोर बाटो भएर नेपाल आए । पर्सा जिल्ला जनसंख्याको हिसाबले मु्स्लिम बाहुल्य भएको जिल्ला हो । वीरगन्जमा आधा दर्जन ठूला मस्जिदहरू छन् तर जामे होइनन् । छपकैंया भारतीय सीमा बहर रक्सौलबाट टाढा पनि छैन पैदल नै हिँडेर आए पनि बढीमा आधा घण्टमा आउन सकिने स्थान हो । भारतको दिल्लीमा करिब डेढ महिनाअघि भएको जमातीमा नेपालका धेरै मुस्लिम समुदायको सहभागिता रहेको बताइएको थियो ।

यद्यपि नेपाली मुस्लिमहरूमा भने कोरोना देखिएको छैन । छपकैंयाको मस्जिदमा लुकेर बसेका उनीहरू बिहीबार मात्रै नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनीहरूको स्वाब हेटौंडामा परीक्षणका लागि पठाइएको थियो । हेटौंडाले कन्फर्म गर्न नसकेपछि काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा पठाइयो र जहाँ यसको पुष्टि भयो ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रहरीले शनिबार राति नै वीरगन्जका केही स्थानहरूमा छापा मारेकोे छ । शंकास्पद स्थान रहेको छपकैंयाको मस्जिदमा छापा मारी गरी २६ जना धर्म गुरुहरूलाई नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविमा रहेको क्वारेनटाइनमा राखिएको छ । उनीहरू सबै भारतीय जमातीमा सहभागी रहेको बताइएको छ ।

स्थानीयमा सन्त्रास
भारतीय जमातीहरूमा कोरोना संक्रमण देखिएपछि वीरगन्जमा सन्त्रास फैलिएको छ । वीरगन्ज शहर बाक्लो र घनाबस्ती भएकाले पनि महामारीको रुप लिने हो कि भन्ने सन्त्रास फैलिएको हो ।

तीन भारतीयलाई राखिएको नारायणी अस्पतालको सबै सेवा बन्द गरिएको छ । उनीहरू कहाँ र कसरी आएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरू गरेको छ । उनीहरूको यात्रा डायरी खोतल्ने प्रयास भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

जालिममाथि अर्को आरोप
यतिमखाना सञ्चालन कमिटीका अलि अस्गर मदनी र जगरनाथपुरका अध्यक्षले सबै जमातीहरूको बस्नेखानेको बन्दोबस्ती गरेका थिए । बिरामी भएर अस्पताल ल्याइएका जमातीहरूले भारतमा जस्तै नेपालको अस्पतालमा पनि असभ्य व्यवहार देखाएको अस्पताल प्रशासनले बताएको छ ।

२४ मध्ये ३ जनालाई अस्पतालमा राखी बाँकी २१ जनालाई सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका उनीहरूले डाक्टर नर्ससहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि थुकेको एवं अभद्र व्यवहार गरेको एक स्वास्थ्यकर्मीले बताए।

अस्पतालमा रहेका जमातीका बिरामीले जथाभावी हिँड्ने, चापाकल चलाउनेलगायतका व्यवहार गर्दै आएका थिए । तीन जनामा कोरोना संक्रमणको चर्चा शुरू भएपछि शनिबार रातिदेखि नै नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले अस्पतालको ओपीडी बन्द गरेको सूचना निकाल्नुभएको छ ।

उहाँले विषम परिस्थितिमा आकस्मिक सेवाबाहेकका ओपीडी बन्द गरेको सूचना निकालेको बताउनुभयो । वीरगन्ज महानगरपालिकाले पनि तवलिगी जमातीहरूको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीलाई राख्नका लागि होटल कन्ट्री इनमा व्यवस्था गरेको छ ।

कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । तीन जना तवलिगी जमातीहरूको रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने भएको हो ।

चैत १९ गते नेपाल प्रवेश गर्नुअघि जमातीलाई भारतीय सुरक्षँकर्मीले रोक्ने प्रयास गरे पनि उनीहरूले ढुंगामुढा गरी नेपालतर्फ प्रवेश गरेको र त्यहाँबाट जगरनाथपुरका अध्यक्षसहितले १० वटा मोटरसाइकलको व्यवस्था गरी नेपाल प्रवेश गराएका थिए ।

नेपाल प्रवेश गराइएका जमातीमध्ये अधिकांश भारतीय तथा केही इन्डोनेसियाका र पाकिस्तानीसमेत भएको सुरक्षँ स्रोतले जनाएको छ । प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्रालय स्रोतका अनुसार रौतहट, सप्तरी, सिराहामा गरी ३ सय ४९ जमाती रहेको बताइएको छ । सुरक्षँकर्मीले उनीहरूको खोजी शुरू गरेको बताइएको छ ।