भक्तपुरमा थालियो र्‍यापिड टेष्ट, एक सय १२ को रिपोर्ट नेगेटिभ

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

जिल्लाको कोरोना परीक्षणको हव अस्पतालको रुपमा रहेको भक्तपुर अस्पतालले हालसम्म १ सय ७१ जनाको स्वाब नमुना संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा १ सय १२ जनाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।बाँकी ५९को रिपोर्ट आउनै बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताउनुभयो ।

रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार शैयाको आइसोलेसनलाई बढाएर १० शैयामा पुर्याएको छ । डा. गौतमका अनुसार हाल आठ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

यसैबीच भक्तपुर अस्पतालले र्यापिड किट मार्फत कोरोना भाइरसको परीक्षण सुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र उनीहरुसँगको सम्पर्कमा रहेकाको र्यापिड डाइग्नोस्टिक टेस्टसुरु गरेको हो । यसका लागि वागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमार्फत ३ सय र्यापिड किट अस्पतालका लागि पठाएपछि परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

शंकास्पत ब्यक्तिको र्यापिड किटमार्फत परीक्षण गरिने र परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौँको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने भएको छ ।

भक्तपुर अस्पतालले मोबाइल एप्समार्फत फाराम भराएर विदेशबाट फर्किएकालाई भक्तपुर अस्पताल जान सूचना जारी गरेको छ ।