पर्वतमा स्थायी शिक्षक पनि मुख छोपेर राहतको लाइनमा, वडा अध्यक्षले फोटो खिचौँ भनेपछि भागे

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत ।

पेशाले उनी स्थायी शिक्षक भएकाले मासिक तलब पाउँछन । बिहान बेलुका हातमुख जोड्नका लागि कुनै समस्या छैन तर पनि उनी राहत लिने लाईनमा थिए । राहत लिनका लागि वडा कार्यालयमा निवेदन दिन मुख छोपेर आएका उनलाई कुस्मा नगरपालिका वडा नं ६ का अध्यक्ष रुद्र गिरीले पहिचान गरिहाले ।

अध्यक्ष गिरीले शंका लागेपछि मुखमा लगाएको मास्क खोल्न भने । अनुहार देखेपछि उनलाई पहिचान गर्न झनै सजिलो भयो ।
तपाई त शिक्षक होइन र रु अध्यक्ष गिरीले गरेको प्रश्नमा उनले भने ‘म शिक्षक भएपनि मेरो परिवार त कुस्मामै डेरामा बस्छन, उनीहरुका लागि राहत चाहियो ।’

हिमालपारिको जिल्ला मुस्ताङ्गमा कार्यरत उनका परिवार कुस्मामा डेरा लिएर बसिरहेका छन । शिक्षक नै राहत माग्न आएपछि आश्चार्यमा परेका अध्यक्ष गिरीले खल्तीबाट मोबाइल निकिालेर फोटो खिचम भनेपछि शिक्षक पछाडी फर्केर बाटो लागे । कुस्मा वडा नं ६ ले अहिले सम्म १ सय २० भन्दा बढी परिवारलाई राहत बाँडी सकेको छ । राहत लिनेमा एक जना पनि स्थायी बासिन्दा र वडाको मतदाता नभएको दाबी अध्यक्ष गिरीको छ ।

‘सबै मज्दुर परिवारलाई नै राहत बाँडेका छौ’ अध्यक्ष गिरीले भने ‘यति गर्दा पनि हुनेखानेले राहत लिनका लागि अनेक बाहना गर्न छोडेका छैनन ।’यो मात्रै होइन बाटोमा राहत बोकेर हिडीरहेका दुई जना महिला आपसमा कुरा गर्दै भन्दै थिए ‘बुढाले उता कतारमा काम पनि गरेका छैनन, पैसा पठाउन पनि सकेका छैनन, एक बोरा चामल पनि किन छाड्नेरु’ उनी संगै कुरा गर्दै गरेकी महिला चामल नमिठो भएकाले यसलाई रक्सी बनाउने योजना सुनाइन ।

कुस्मा नगरपालिकाले सोना मनसुली चामल राहतको रुपमा बाँडेको छ भने अन्य पालिकाले त्यो भन्दा गुणस्तरीय जिरा मनसुली चामल राहत बितरणमा प्रयोग गरेका छन । कुस्मामा राहत लिनेको संख्या बढी भएका कारण पनि सोना मनसुली चामल बाँडिएको छ।

यी दुई घटना प्रतिनिधि मात्रै हुन । पर्वतका स्थानिय तहले राहत बितरणका लागि मापदण्ड बनाएपनि राजनैतिक भागबण्डा र मतदाता आकर्षित गर्ने नाममा मापदण्ड बिपरित राहात बितरण गरिएको छ ।

लक डाउन प्रभाबकारी बनाउने र कोरोना संक्रमणको जोखिम रहेका नागरिकलाई पहिचान गरि परिक्षण गर्ने तथा क्वारेन्टाईनमा राखेर सुरक्षित बनाउने भन्दा पनि राहत बितरणमा ध्यान दिएको आरोप लाग्दै आएको छ ।

कम्तीमा पनि बैषाखको पहिलो हप्ता सम्म राहात बितरण नगर्दा भोकै बस्नुपर्ने अबस्था नआउने देखिन्छ तर अहिले राहत बितरण गर्दा बैषाखको दोस्रो हप्तामा पनि लक डाउन थपिएमा अर्को चरणको राहत बितरण गर्नुपर्ने बाध्यता छ ।

कुस्मा नगरपालिकामा झण्डै ३ हजारलाई राहत बितरण गरिदै छ । फलेबासले राहत बितरणमा कडाई गरेको भने जलजलाले पनि पछिल्लो समय राहत लिनेको संख्या कटौती गरेको छ ।

महाशिला, बिहादीले राहत बितरण गरि सकेका छन । मोदीमा आधालाई राहत बितरण गरिएको छ भने पैंयु गाउँपालिकामा पनि ठुलो संख्यालाई राहत बितरणको तयारी भैरहेको छ। पर्वत जिल्लाका सात वटा स्थानिय तहले पहिलो चरणमा झन्डै १ करोड ६६ लाख रुपैयाँ बराबारको खाद्यान्न वितरण गर्न लागेका छन ।

तत्काल राहत बितरण स्थगित गर्ने भनिएपनि कुस्मा नगरपालिकाका अधिकाँश वडामा राहात बितरण भैसकेको छ ।जिल्ला प्रशासन कार्यालयले चैत्र २४ गते सबै पालिकालाई पत्र पठाउँदै सरकारले अन्तर जिल्ला तथा अन्तरपालिकास्तरमा समेत आवतजावत बन्द गर्ने निर्णय गरेको सचेत गराउँदै धौलागिरी अञ्चलको प्रबेशद्वारको रुपमा रहेको पर्वत कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै तयारी अबस्थामा मात्रै रहन अनुरोध गरेको थियो ।