वीरगञ्ज आएका तीन भारतीय कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको बेला नेपालमा थप ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंजको छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पुष्टि गर्नुभएको छ ।

शुक्रवार हेटौंडाको प्रयोगशालाको रिपोर्टमा पोजेटिभ देखिएपछि नमूना टेकू स्थित जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको र प्रयोगशालामा दुई पटक परिक्षण गर्दा पोजेटिभ नै आएको उहाँले बताउनुभयो ।

संक्रमित तीनैजना १५ दिन देखि मस्जिदमा एक धार्मिक कार्यक्रमका लागि आएर बसेको बुझिएको छ । कोरोना संक्रमण पुष्टि भएका दुई जना उत्तर प्रदेश र एकजना दिल्लीका भएको बुझिएको छ । संक्रमित तीनै जनालाई वीरगञ्ज प्रहरीले समन्वय गरेर अस्पताल पु¥याएको बुझिएको छ ।

कोरोना परिक्षण गर्ने कुनै पनि प्रयोगशालाले स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीको स्वीकृति नलिई कोरोना संक्रमणको रिपोर्ट सार्वजनिक गर्न नपाउने सरकारको कडा निर्देशन भएकाले शनिवारै पुष्टि भएको कोरोना संक्रमणका बारेमा आईतबार मध्यान्ह सम्म स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्तालाई आधिकारिक जानकारी नभएको बुझिएको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आईतबार मध्यान्ह सम्म पनि प्रयोगशालाले मन्त्रालयलाई औपचारिक इमेलमाफर्त जानकारी दिइनसकेको संचार माध्यम समक्ष बताउँदै आउँनुभएको छ ।

शनिवार टेकूमा कोरोना संक्रमण पुष्टि भएका तीनैजनाको नमूना त्यसअघि हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा परिक्षण गरि पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराईसकेको स्रोतको दाबी छ । नेपालमा यो ३ जना समेत गरि हाल सम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

मस्दिजमा रहेका कोरोना संक्रमण पुष्टी भएका भारतीय नागरिकका साथमा रहेका अन्य २६ जनालाई समेत वीरगंज प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्दै नमूना संकलन कार्य अघि बढाएको बुझिएको छ ।