लकडाउन हटाउनु खतरनाक रहेको डब्लुएचओको चेतावनी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न गरिएको लकडाउन हटाउनु खतरनाक रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।

हाल विश्वभर कोरोना संक्रमण फैलिरहेकाले लकडाउन हटाउन हतार गरेमा संक्रमित र मृतकको संख्या तीव्र रुपमा वृद्धि हुने डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेसले जनाएका छन् । लकडाउन हटाउनअघि सबै मुलुकले सतर्कता अपनाउनुपर्ने टेड्रोसले बताए। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेका स्पेन र इटली दुवैले लकडाउनको अवधि थप गरेका छन् ।

‘हामी संसारभरका सरकारसँग लकडाउनका समय कम गर्ने रणनीतिमा काम गरिरहेका छौं । तर यसमा हतार गर्नु राम्रो होइन । हतारमा लकडाउन हटाइयो भने संसारमा मृत्यु हुनेको संख्यामा अझै तीव्र रुपमा बढ्न सक्छ ’ टेड्रोसले भने ।

विश्वभर कोरोना संक्रमितको संख्या १६ लाख ९७ हजार ८०२ पुगेको छ भने एक लाख २ हजार ६९३ जनाको मृत्यु भइसकेको छ ।