पुलाचौरमा वडा कार्यालयद्वारा विपन्न परिवारलाई राहत वितरण

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–५ नम्बर वडा कार्यालयले वडा भित्रका विपन्न परिवारलाई बिहीबार र शुक्रबार राहत वितरण गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण समस्यामा परेका ज्याला, मजदुरी गर्ने तथा विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो ।

वडा कार्यालयले विपन्न परिवारको निवेदन सङ्कलन गरी कुल १ सय ३४ परिवारलाई दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेको जनाएको छ । वडाभित्र पुरुण्डी, पुलाडाँडा, पुलाचौर, नयाँगाउँ, गाजने, चिप्लेटी, डडुवा, भीरमुनी र बगुवाखोलाका विपन्न परिवारलाई गाउँमै पुगेर राहत सामग्री वितरण गरिएको छ । उनीहरुलाई चामल, तेल, चिनी, दाल, नुन र साबुनलगायत दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध गराइएको छ ।

तीन जनाभन्दा बढी सङ्ख्या रहेको परिवारलाई प्रति परिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी चिनी, ३ केजी दाल, २ केजी नुन र ४ गोटा साबुन वितरण गरिएको वडा सचिव कृष्णबहादुर बानियाँले जानकारी दिए । उनका अनुसार २ जनाको परिवारलाई भने आधा प्याकेज खाद्यान्नका दरले दिइएको छ ।

बेनपा–५, का वडा अध्यक्ष लक्ष्मण बानियाँले पहिलो चरणमा अति विपन्न परिवारलाई छनोट गरी राहत उपलब्ध गराइएको बताउँदै छुट भएकालाई दोस्रो चरणमा राहतस्वरुप खाद्यान्न दिइने बताएका छन् । खाद्यान्न वितरण कार्यक्रममा पुलाचौरका युवाहरुले स्वयंसेवा समेत गरेका थिए ।