बजार बन्द हुँदा बारीमै कुहियो तरकारी

0
Shares

उत्तम नेपाल, भद्रपुर ।

तरकारी खेती मार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकाम्स किशान आफ्नो उत्पादन बेच्न नपाएपछि निराश बनेका छन् । लक डाउनका कारण बारीभरी उत्पादन भएका तरकारी बजार पठाउन नसकेपछि साहुको ऋण र वर्षभरी परिवार धान्ने आर्थिक जोहो गुम्ने खतरा बढेपछि कृषकहरू निराश भएका हुन् ।

उत्तरी झापाका साविकका वाहुण्डाँगी, शान्तिनगर, बुधवारे, खुदुनावारी लगायत क्षेत्रमा व्यवसायिक रूपमा तरकारी खेती हुने गरेको छ । यस क्षेत्रबाट उत्पादित तरकारी विर्तामोड स्थित कृषि थोक बजारमा लगेर कृषकले बेच्ने गरेका छन् । दुई हप्तायता कृषि थोक बजार बन्द भएपछि उत्तरी झापामा उत्पादित साग सब्जी बारीमै कुहिन थालेको छ । विभिन्न सहकारी तथा व्यक्तिगत प्रयासमा गरिएको तरकारी खेतीले झापा लगायत आसपास क्षेत्रका बासिन्दालाई साग सब्जीको माग धानिरहेको छ । तर, मुख्य बजार बन्द भएपछि कृषकका उत्पादन खेत बारीमै सिमित बनेको पीडित कृषकहरूको गुनासो छ ।

बुद्धशान्ति ५ शान्तिनगरका कृषक धनबहादुर श्रेष्ठका अनुसार त्यस वडामा मात्र २ सय विगाह बढी क्षेत्रफलमा लगाइएको तरकारी जन्य उत्पादन बजार पठाउन नसक्दा कुहिने अवस्था आइसकेको छ । कृषकहरूले विभिन्न सहकारी तथा व्यक्तिगत लगानीमा गरेको तरकारी खेतीबाट सयौं परिवारले जीवन धानिरहेको श्रेष्ठको भनाइ छ । साग सब्जीले बिक्री हुने ठाउँ नपाएको कृषक श्रेष्ठको गुनासो छ । स्थानीय सरकारले समेत कृषको समस्या नसुनिदिँदा बारीमै तरकारी कुहिने अवस्था आएको उहाँको आरोप छ ।

हिउँदे तरकारीको अन्तिम सिजन भएकोले यस बेला टमाटर, मटर, बन्दाकोपी, भिण्डी, भाण्टा, सिमी, विभिन्न सागपात, फर्सी, लौका लगायत उत्पादित भइरहेको सयौं कृषकको पेशा नै संकटमा परेको छ । कृषकहरू स्थानीय उत्पादनलाई बजारीकरण गर्न सरकारले ध्यान नदिएको समेत गुनासो पोख्छन् ।