लकडाउनको १८ औ दिन: सुरक्षा, रोकथाम र नियन्त्रणको पूर्ण तयारी

94
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाइरस रोकथामका लागि जिल्ला कमाण्ड पोष्ट, स्थानीय सरकार तथा जिल्ला स्थित विभिन्न संघसंस्थाको पहलमा भईरहेका गतिविधिहरुले जिल्लालाई संक्रमण फैलन नदिन र संक्रमण भएको अवस्थामा नियन्त्रण गर्ने गरी ब्यवस्थापनलाई चुस्त बनाईएको छ ।

८ सय ३८ थान पिपिई, सर्जिकल मास्क २४ हजार ६ सय ५०, सर्जिकल ग्राउन ४४ थान, सेनिटाईजर ४ हजार २ सय १ बोतल, एन नाईन्टी फाईभ मास्क १ सय १५ वटा, सर्जिकल ग्लोभ्स ४८ हजार ४ सय र थर्माेमिटर २१ वटा प्राप्त भएका छन् । कोभिड १९ रोकथामका लागि स्थानीय तह, जिल्ला स्थित अस्पताल र सुरक्षा निकायलाई समेत गरी उक्त सामाग्री प्राप्त भएको हो । यसका अलावा स्थानीय तहहरु र अस्पतालहरुमा अन्य थप सामाग्रीहरु पनि उपलब्ध भएका छन् । जिल्लामा रेकर्ड गरिएको सामाग्रिहरु विपद ब्यवस्थापनमा प्रयोग गरिनेछ ।

जिल्लामा चैत्र १ गते देखि २ सय ५१ जना ब्यक्तिहरु स्वदेश फर्किएकोमा सबै जना होम क्वारेन्टाईनमा रहेका छन् । स्थानीय तहरुले २ सय ८८ शैयाको क्वारेन्टाईन निर्माण गरेर तयारी अवस्थामा राखेका छन् । धुलिखेल अस्पतालमा २६ जनाको स्वाब परिक्षण गरिएकोमा सबै जनामा संक्रमण नभएको पुष्टी भएको छ । अस्पतालले पहिलो चरणमा विदेशबाट फर्किएका सबै ब्यक्तिहरुको सुचिकृतका आधारमा स्वाब परिक्षण गर्नेछ । साथै धुलिखेल अस्पतालको क्षमता बढाएर टेकुमा आएका स्वाबहरु समेत परिक्षण शुरु गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले कोभिड १९ को महामारीबाट बच्न जिल्लामा उच्च सतर्कता अपनाउँदै तयारी तिब्र गरिएको बताउनु भयो । कुनै खालको संकट भित्रन नदिन र अभाव हुन नदिन अस्पताल, एम्बुलेन्स, स्थानीय तहहरुको सक्रियता र स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गरिएको तिमल्सिनाले बताउनु भयो । अत्यावश्यक सामाग्रीहरुको सहज आपुर्तिका लागि निरन्तर सहायक प्रजिअ लक्ष्मीदेवी हुमागाई खतिवडाको संयोजकत्वको कमिटीले काम गरिरहेको छ । नागरिकहरुले पूर्ण रुपमा लकडाउन पालना गरेको अवस्थामा संक्रमण फैलन नपाउने र नागरिकहरुको सुरक्षाका लागि भएका प्रयासहरु सफल हुने प्रजिअ तिमल्सिनाले बताउनु भयो ।
जिल्ला स्थित सुरक्षा निकायका सबै प्रमुखहरु, स्वास्थ्य कार्यालय, अस्पतालहरु, स्थानीय तहका सबै स्वास्थ्य शाखाहरु कृयाशिल भईरहेका छन् ।

स्वास्थ्य आपतकालिन केन्द्र गठनमा ढिलाई

नेपाल सरकारले कोरोना भाईर रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि जिल्ला स्तरीय स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र गठन गरी पालिका स्तरमा समेत प्रमुख/अध्यक्षको संयोजकत्वमा समिति गठन गर्न परिपत्र गरेको भए पनि अधिकाशं स्थानीय तहमा उक्त समिति गठन भएको छैन । समितिमा पालिका प्रमुख/अध्यक्ष संयोजक रहने ब्यवस्था छ भने प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक र सुरक्षा निकायका प्रतिनिधि रहनेछन् । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमाण्ड पोष्ट र स्वास्थ्य आपतकालिन समिति गठन भएको छ । जसमा समन्वय समिति प्रमुख र नेपाल नगरपालिका संघका अध्यक्ष सल्लाहकार रहनु भएको छ भने जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख र धुलिखेल अस्पतालका प्रतिनिधि सदस्य रहेका छन् ।

स्थानीय तहमा गठन हुने उक्त समितिले आवश्यकता अनुसार स्थानीय स्तरमा स्वंयसेवकहरु परिचालन गर्नेछ भने सामाजिक दुरी कायम राखी नागरिकहरुलाई सुरक्षित राख्न, अत्यावश्यक बस्तुहरुको अभाव हुन नदिन र जिल्लामा रहेको समितिसँग समन्वय गरी कार्य गर्ने कार्यादेश छ ।

बास्कोटाले उपलब्ध गराए पिपिई

सञ्चार तथा सूचना प्रविधी पुर्व मन्त्री एवं प्रतिनिधि सभाका सदस्य गोकुलप्रसाद बाँस्कोटाले जिल्लाका १३ वटा स्थानीय तहमा सजिर्कल मास्क ४ हजार थान, सेनिटाईजर २ सय ५० एमएलको १ सय ९८ थान, पिपिई सेट १ सय ९५ थान उपलब्ध गराउनु भएको छ । यस अघि पनि पुर्व मन्त्री बास्कोटाले सर्जिकल मास्क ८ सय ५० थान र एक सय एम एलको ९ सय ३० थान सेनिटाईजर उपलबध गराउनु भएको थियो ।

मन्त्री बास्कोटाले महाभारत गाउँपालिकालाई चार थान पिपिई, २ सय थान सर्जिकल मास्क, खानिखोला गाउँपालिकालाई चार थान पिपिई, रोशी गाउँपालिकालाई सर्जिकल मास्क, तेमाल गाउँपालिकामा ८ थान पिपिई, चौरीदेउराली, भुम्लु गाउँपालिका र बेथान्चोक गाउँपालिकामा ६/६ थान पिपिई, मण्डनदेउपुर नगरपािलकामा १२ थान पिपिई, पाँचखाल नगरपालिकामा १८ थान, नमोबुद्ध नगरपालिकामा १० थान, पनौती नगरपालिकामा १२ थान, बनेपा नगरपालिकामा ३० थान र धुलिखेल नगरपालिकामा ७५ थान पिपिई उपलब्ध गराउनु भएको छ ।

धुलिखेल नगरपालिकामा प्राप्त पिपिई धुलिखेल अस्पतालमा उपलब्ध गराईएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल अस्पताललाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । बनेपा नगरपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि हस्तान्तरण गर्नु भएको पिपिइ, स्यानिटाइजर तथा सर्जिकल मास्क बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिरमेमोरियल, अपाङ्ग बाल अस्पताल, स्पाइनल इन्जुरी र रेयुकाइ आखाँ अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो ।

पैदल हिडेरै गन्तब्यमा

लकडाउन घोषणा गरे लगत्तै गन्तब्यमा जान नपाएका थुप्रै नागरिकहरु पैदल हिडेरै दैनीक गन्तब्यमा पुगिरहेका छन् । लकडाउनको पहिलो अवधीमा थोरै ब्यक्तिहरु पैदल हिडेर गन्तब्यमा पुगेका थिए भने दोश्रो चरणमा त्यो संख्या ह्वात्तै बढ्यो । दैनीक ३ सय देखि ५ सय सम्म पैदलयात्रामा निस्किएका ब्यक्तिहरु गन्तब्यमा पुग्ने गरेका छन् । तेश्रो पटक लकडाउनको म्याद थपिए पछि राजधानीमा रहेका मजदुर तथा सर्वसाधारणहरु ७ दिनसम्म हिडेर गन्तब्यमा पुगेका छन् । लकडाउनको १८ औ दिनसम्म झण्डै ५ हजार नागरिकहरु पैदल मार्फत गएको प्रहरीको तथ्याङ्कमा छ ।

हुमागाईले हस्तान्तरण गरे तीन महिनाको तलब

काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्वर २ अन्र्तगत प्रदेश सभा २ का प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले एक महिनाको पारिश्रमीक प्रदेश राहत कोषमा जम्मा गर्नु भएको छ भने बाँकी दुई महिनाको पारिश्रमीक निर्वाचन क्षेत्रका स्थानीय तहमा उपलब्ध गराउनु भएको छ । मण्डनदेउपुर, बनेपा र पनौती नगरपालिका तथा बेथान्चोक गाउँपालिकामा २५ हजारका दरले विपद कोषमा जम्मा हुने गरी रकम उपलब्ध गराईएको प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले जानकारी दिनुभयो ।

चौरीमा लायन्स क्लवका स्वास्थ्य सामाग्री

चौरीदेउराली गाउँपालिकालाई सस्थागतरुपमा पहिलो पटक स्वास्थ्य सामाग्री हस्तान्तरण भएको छ । कोभिड १९ को महामारीबाट सुरक्षित रहन सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्स क्लव अफ काठमाडौँ परोपकारको सहयोगमा चौंरीदेउराली गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध भएका हुन् ।

नेकपा नेता लेखराज गौतम, प्रभा एलुम्नाई एसोसिएसनका महासचिव गोकुल गौतम लगायतको उपस्थितिमा गाउँपालिका अध्यक्ष दिनानाथ गौतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा पिपिई १५ थान, ज्वरो नाप्ने डिजिटल थर्मो्िमटर २ सय थान, पुनः प्रयोग गर्न मिल्ने मेडिकल पञ्जा २ सय २५ थान , डिस्पोजल पञ्जा १ सय थान, मेडिकल मास्क २ सय थान, कपडाको मास्क ३ सय ५० थान, सेनिटाईजर १० लिटर रहेको छ । लायन्स क्लव अफ काठमाडौँ परोपकार की संस्थापक अध्यक्ष पार्वती खरेल पाण्डेले महामारीमा थोरै सहयोग उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउनु भयो ।

महाभारतमा ५ जना जम्मा हुन रोक

महाभारत गाउँपालिकाले कुनै पनि स्थानमा ५ जना भन्दा धेरै जम्मा नहुन सबै वडाबासीहरुलाई अनुरोध गरेको छ । साथै एउटा वडाबाट अर्काे वडामा आवतजावत अत्यावश्यक काम बाहेक नगर्न कडाईका साथ कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता एवं वडा अध्यक्ष रविन मोक्तानले जानकारी दिनु भयो ।

अध्यक्ष कान्छालाल जिम्बाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै विहान ८ देखि १० बजेसम्म र साँझ ३ देखि ५ बजेसम्म अत्यावश्यक सेवाका पसलहरु संचालन गर्ने निर्णय गरेको छ । खाद्यान्न अभाव हुन नदिन आपुर्ति ब्यवस्थालाई सहज बनाउने, मुल्य बृद्धी नगरी बजारलाई सहज बनाउन अनुगमनलाई प्रभावकारी बनाउन स्थानीय प्रहरी सहितको कमिटीलाई परिचालन गर्ने, नागरिकहरुलाई राहत उपलब्ध गराउन कोष खडा गर्ने र फुड बैक स्थापना गर्ने निर्णय भएको छ । फुड बैक र राहत कोषमा सहयोग गर्न गाउँपालिकाले दाताहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।