बागमती प्रदेश सरकारलाई सय थान पीपीई

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले शुक्रबार पीपीई हस्तान्तरण गरेको हो ।

बैंकका बागमती प्रदेश कार्यालय प्रमुख दुर्गाराम पुरी र हेटौंडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गर्नुभएको हो । पीपीई सेटसँगै एन ९५ मास्क १०० थान र १०० एमएल बोतलका १०० थान सेनेटाइजर पनि हस्तान्तरण गरिएको हो ।

सात वटै प्रदेशलाई १०० थान पीपीई र कोरोना भाइरस नियन्त्रण केन्द्रीय कोषमा १ करोड ५१ लाख हस्तान्तरण गरिएको प्रदेश कार्यालय प्रमुख पुरीले जानकारी दिनुभयो । कोरोनाबाट सुरक्षित भएर काम गर्न स्वास्थ्यकर्मीलाई यसले सहयोग पुग्ने पुरीले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्राप्त भएका पीपीईहरु शुक्रबार नै स्वास्थ्य तथा आपूर्ति व्यबस्था कार्यालयमा पठाइएको जानकारी दिनुभयो । कार्यालयमार्फत् एकद्वार प्रणालीअनुसार पीपीई आवश्यकताअनुसार अस्पतालहरुमा पठाइने उहाँले बताउनुभयो । अप्ठ्यारो समयमा सहयोग गरिएकोमा मुख्यमन्त्री पौडेलले धन्यबाद दिनुभयो ।

प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र कृष्णप्रणामी सेवा समिति मकवानपुरले सहयोग गरेका छ्न् ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीका हेटौंडा शाखा प्रमुख सञ्जय रेग्मीले ५ लाख र कृष्णप्रणामी सेवा समिति अध्यक्ष अर्जुनप्रसाद वाग्ले र उपाध्यक्ष श्रीराम खतिवडाले १ लाख ५ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।