केही दिनका लागि बाटो खुला गर्न जनमोर्चाको माग

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

राष्ट्रिय जनमोर्चाले काठमाडौँमा रोकिएर बसेका ब्यक्तिहरूलाई गाउँहरूमा जानको लागि अवसर दिन सरकारसँग माग गरेको छ ।

जनमोर्चाले एक बक्तब्य जारी गरी मापदण्ड बनाएर विभिन्न व्यवहारिक कारणले जिल्लाहरूमा गएर रोकिएर बसेकाहरूलाई राजधानीमा आउनको लागि अवसर दिन र भारतमा विभिन्न सीमाहरूमा रोकिएर बसेका नेपालीहरूलाई नेपालमा आफ्नो घरमा आउन अवसर दिन समेत माग गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीद्धारा हस्ताक्षरित बक्तब्यमा भनिएको छ,‘सरकारले काठमाडौँबाट बाहिर जान चाहने व्यक्तिहरूका लागि दुई दिन यातायात खुला गर्ने समाचार आयो तर तुरुन्तै त्यो निर्णय कार्यान्वयन नगर्ने भन्ने समाचार पनि आयो ,त्यो समाचारले पैदा गरेको असहज स्थितिप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।’

सरकारले दुई दिनका लागि यातायात खुला गर्ने जुन निर्णय गरेको थियो, त्यो सही थियो तर त्यो एकाङ्की र अपूर्ण थियो ,जनमोर्चाको बक्तब्यमा भनिएको छ । लकडाउनका कारणले काठमाडौँमा रोकिएर जिल्लाहरूमा जान नपाएकाहरू मात्र होइन, जिल्लाहरूमा रोकिएर काठमाडौँमा आउन नपाएकाहरू तथा भारतको सीमामा रोकिएर नेपाल आउन नपाएकाहरूलाई पनि दुई–तीन दिनको लागि बाटो खुला गर्नुपर्ने आवश्यकता रहेको जनमोर्चाको ठहर छ ।

जनमोर्चाले कम्तिमा तीन दिन पहिले त्यसप्रकारको सूचना दिएर त्यसरी रोकिएर अलपत्र परेर बसेकाहरूलाई आफ्नो आफ्नो ठाउँमा पुग्न अवसर प्रदान गर्नको लागि सरकारसित अनुरोध गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ ,‘सञ्चार माध्यमहरूबाट समाचारहरू आइरहेका छन्, काठमाडौँमा रोकिएर बसेका कैयौँ मानिसहरू बेखर्ची भएर कैयौँ दिन पैदल हिडेर आफ्नो गाउँमा जाँदैछन् । कतिपय व्यवहारिक कारणले जिल्ला जिल्लामा गएका मानिसहरू काठमाडौंमा आफ्ना घर परिवारमा आउन नपाएर ठाउँठाउँमा रोकिएर बस्नुपरेको छ । भारतको सीमामा करिब दुईहजार नेपालीहरू अलपत्र परेर दुःख पाएर बस्नु परेको छ । त्यसप्रकारको स्थितिबाट राष्ट्रिय स्तरमा नै अप्ठ्यारो वा असहज स्थिति उत्पन्न भएको छ र त्यो स्थितिलाई फुकाएर सहज गराउनको लागि हाम्रो पार्टीले सरकारसित माग गर्दछ । ’