डडेल्धुराको क्वारेन्टाइनमा रहेका १०७ जनाको नमूना संकलन गरिँदै

0
Shares

राम धामी,  डडेल्धुरा।

डडेल्धुरा जिल्लाका विभिन्न स्थानीय तहले व्यवस्थापन गरिरहेका क्वारेन्टाइन स्थलमा बसेका एक सय सात जना मानिसहरूको ‘थ्रोट स्वाब’ नमूना संकलन कार्य सुरु भएको छ ।

बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण भिटिएम त्यहाँ पु¥याइएपछि ‘थ्रोट स्वाब’ संकलन सुरु भएको हो । डडेल्धुरा सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, जिल्लाको भित्रिमधेसस्थित परशुराम नगरपालिकाले व्यवस्थापन गरेको परशुराम नगरपालिका–१२ मा रहेको त्रिवेणी बहुमुखी क्याम्पस र सोही नगरपालिकाको वडा नम्बर ७ साँदनीस्थित शिवशंकर माध्यामिक विद्यालय र गन्यापधुरा गाँउपालिकामा रहेको सरस्वती माध्यामिक विद्यालय भात्काँडा र भागेश्वर गाँउपालिकाको बगरकोटस्थित सरस्वती माध्यामिक विद्यालयगरी पाँच स्थानमा रहेका क्वारेन्टाइनस्थलबाट कोरोना परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

कोराना परीक्षणका लागि डडेल्धुरामा क्वारेन्टाईनमा रहेका १०७ जनाको ‘थ्रोट स्वाब’ संकलन गरिनेछ । सात स्थानीय तह रहेको डडेल्धुरामा सबै भन्दा बढी परशुराम नगरपालिकामा ६४ जना क्वारेन्टाईमा बसेका छन् । क्वारेन्टाईनमा मात्र बसेकाको नमुना संकलन नभएर अन्यको आवश्यक परे गर्ने सकिने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । करिब १९० जनाको डडेल्धुराबाट स्वाब संकलन गर्ने लक्ष्य रहेका जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा खटिएको विज्ञेषज्ञ चिकित्सकसहितका दुईओटा टोलीबाट यँहाका ९ ओटै जिल्लामा क्वारेन्टाइनमा रहेका नागरिकहरुको ‘थ्रोट स्वाब’ संकलन भईरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशानलयले जनाएको छ । सेनाको हेलिकोप्टरमार्फत टोलीले क्वारेन्टाइनस्थलमै पुगेर ‘थ्रोट स्वाब’ संकलन गरिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. लोकराज अवस्थीले जानकारी दिए ।