कोरोना परिक्षणमा सरकारको गति सुस्त किन ?

0
Shares

भगवती तिमल्सिना,काठमाडौ ।

दक्षिण कोरियाले दिनमा १० हजारका दरले कोरोना संक्रमण भए नभएको ल्याब परिक्षण गरेर छोटो समयमा ठूलो संख्यामा संक्रमित भएको पत्ता लगाई नियन्त्रणमा लिन सफल भएको यथार्थ नेपालले नदेखेको हैन ।

तर नेपाल सरकारले कोरोना भाईरसका बिषयमा जे जति तयारी गर्नुपर्ने, र्यापिङ टेष्ट गर्नुपर्ने हो त्यो गरेको पाइन्न ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित गराउँदै आउँनुभएको पत्रकार सम्मेलन मंगलबार पनि उस्तै थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा हालसम्म १ हजार ७ सय ९६ जनाको परिक्षण भएको छ । उपत्यका र उपत्यका बाहिर मंगलबार १ सय जना आइसोलेसनमा रहेको छन् ।

नेपालमा भएका आठजना कोरोना संक्रमतिको स्वास्थ्य सामान्य रहेको छ । यो मात्र सरकारको दायित्व नभै नेपालमा हरेक दिन कम्तिमा एकहजार जनाको स्वास्थ्य परिक्षण गरियो र त्यसबाट नतिजा यस्तो आयो भन्ने हुनुपथ्यो । नेपालले कोरोना भाईरसका नाममा नेता पोस्ने र जनतालाई मात्र दुःख दिने योजना नबओस् ।

कोरोनाका नाममा जम्मा भएको रकम भागबण्डा र राहतका नाममा बील नबनोस् । कोरोना संक्रमण नियन्त्रणका लागि भनेर विभिन्न बैंक, सहयोगी दातृ निकाय, उद्योगी, व्यवसायी, सर्वसाधारण जनता, कर्मचारीले जम्मा गरेको रकमबाट तत्काल कोरोना भाईरस परिक्षण र नियन्त्रणका लागि आवश्यक उपकरण, पिपिई, औषधि, मेन्टिलेटर, स्वास्थ्यका लागि आवश्यक क्षेत्रको विकासमा खर्च गरिनुपर्ने विज्ञहरुको ठम्याई छ ।

डेढ लाख मानिस बिदेशबाट भित्रिएका छन् तर क्वारेन्टाइनमा देशभर ९ हजार २ सय २८ जान रहेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप संक्रमतिहरुको सम्पर्क भएका ९० प्रतिशतसंग परिचाहन भएको मन्त्रालयले जनाएको छ ।

१ सय ७२ जना रेडजोनमा रहेको र उनीको फोन मार्फत सम्पर्क भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताउनुभयो । अब ती रेडजोनमा परेका, टेलिफोन सम्पर्कमा आएका व्यक्तिलाई कहिले स्वास्थ्य परिक्षण गराईन्छ र उनीहरु ढुक्क हुने दिन आउँछ ?

मन्त्रालय भन्छ मंगलबार देशभरका विभिन्न अस्पतालमा १ सय जना व्यक्ति आइसोलेसनमा राखिएको छ । अहिले उपत्यका र उपत्यका बाहिर गरी १० वटा प्रयोगशालामा कोरोना भाइरस (कोभिड १९)को परीक्षण भइरहेको र प्रयोगशाला सात वटै प्रदेशमा रहेको बताईए पनि परिक्षणको गति भने न्यून नै रहेको छ ।

मन्त्रालयको वेभसाईड र एपमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५१ जनाले आफ्नो नाम दर्ता गराएको र त्यसमध्ये १७ जना रेडजोनमा रहेको डा.देवकोटाले जानकारी गराउनुभयो ।