दूध ढुवानी भन्दै रक्सी ओसारपसार

0
Shares

न्युज अफ नेपाल, हेटौंडा।

लकडाउनको समयमा पाएको सुबिधा दुरुपयोग गर्ने एक अटोचालक पक्राउ परेका छन् ।

‘दूध ढुवानी सेवा’ भनी टाँसेर घरेलु रक्सी बोक्ने अटो र अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौंडा चौकीटोलबाट खटिएको प्रहरी टोलीले दूध ढुवानी सेवा भनी टाँसेर रक्सी बोक्ने ना. १ ह ५३८९ नम्बर अटो र त्यसका चालक फेन्जु लामालाई पक्राउ गरेको हो ।

विहान करिब ६ बजे हेटौंडा–२, चौकीटोलस्थित सडकमा अटोमा दूध ढुवानी सेवा भनी टाँस गरी सामरीबाट हेटौंडातर्फ आउँदै गरेको अटोलाई चेक गर्दा दूधका ३ वटा खाली क्यान र ५ वटा जर्किनमा करिब १ सय ४० लिटर अवैध घरेलु मदिरा फेला परेको थियो ।

अटो चालक हेटौंडा–५ बस्ने वर्ष ३३ का लामा, मदिरा, अटोलाई नियन्त्रणमा लिइएको छ ।