कोरोना सन्त्रासका कारण एकदेखि अर्को बस्ती प्रवेशमा रोक

0
Shares

राम धामी, डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि यँहाका स्थानीय तहहरुले लकडाउनमा कडाई गरिरहेका छन ।

लकडाउनको अवधीमा छिमेकी मुलुक भारतबाट लुकिछिपी महाकाली नदी तरेर स्वदेश फर्किने नागरिकहरुको संख्या दिनहु बढदै गएपछि जिल्लाको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिकाले एक बस्तीदेखि अर्को बस्ती आउजाँउ गर्न रोक लगाउने निर्णय गरेको छ । दिनहु सिमाबाट नागरिकहरु स्वदेश फर्किन थालेपछि कोरोना भाईरस संक्रमणको जोखिम बढदै गएकाले एक बस्तीबाट अर्को बस्ती आवतजावत गर्न पुर्णरुपमा रोक लगाइएको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदले बताए ।

लकडाउनको अवधीमा अहोरात्र खटेर कोरोना संक्रमणको आशंकामा रहेका नगरबासीलाई क्वारेन्टाईनमा राख्न सक्रिय नगरप्रमुख साँउदले लकडाउनमा कडाई गर्न नसकिएमा संक्रमण फैलिदैं जाने जोखिम बढेको बताए । गन्यापधुरा गाउँपालिकाले पनि एक गाउँबाट अर्को गाउँमा जान पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकाका हरेक गाउँ सिल गर्नुका साथै भारतबाट घर फर्किएकाको उच्च निगरानी गर्ने निर्णय गरिएको गन्यापधुरा गाँउपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए ।

हालसम्म सुदूरश्चिममा चारजनामा कोरोना भाईरसको संक्रमण पोजेटिभ देखिएको पुष्टि भएपछि स्थानीय तहले सजकता अपनाउन बस्तीदेखि बस्तीसम्म आउजाँउ गर्न रोक लगाउनु परेको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए । कैलालीमा शनिबार कोरोना संक्रमण पुष्टि भएका युवक चैत ११ गते गौरीफण्टा नाकाबाट नेपाल भित्रिएको बुझिएसँगै निज युवकसँग एकैपटक ९ सय ९९ जना स्वदेश भित्रिएकाले सर्तकता अपनाउन आवश्यक देखिएको अध्यक्ष गुरुङले बताए । उनले आईतबारदेखि आलिताल गाँउपालिकाका बस्तीहरु सिल गरिएको जानकारी दिए ।

शनिबार कोरोना संक्रमण पुष्टि भएका युवक भारतबाट आएको दिन नै गन्यापधुरा गाउँपालिकाका ३० जना युवा पनि घर फर्किएको बुझिएको छ । जिल्लाको भित्रिमधेस क्षेत्रमा मात्रै ६० जना भन्दा बढि व्यक्ति सोहिदिन गौरीफन्टा नाकाबाट भित्रिएका थिए । लकडाउन पछि मात्रै डडेल्धुरा जिल्लामा दुई हजार तीन सय १७ ब्यक्ति स्वदेश फर्किएका छन । हालसम्म जिल्लाका सातओटै स्थानीय तहले ९४ जनामात्रै क्वारेन्टाइनमा रहेको जनाइएका छन ।

लकडाउनको अवधीमा समेत छिमेकी मुलुक भारतबाट लुकिछिपी पौडी खेलेर र ट्युवमार्फत महाकाली नदी तरेर दिनहुजसो सर्वसधारणहरु स्वदेश फर्किन थालेपछि कोरोना संक्रमणको जोखिम बढदै गएकाले आईतबारदेखि परशुराम नगरपालिका र भागेश्वार गाँउपालिकामा रहेका सिमा नाकामा शसस्त्र प्रहरी परिचालन गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । उनले सिमाक्षेत्रमा सर्वसधारणहरुलाई आवतजावतमा पुर्णतयाः रोक लगाइएको जानकारी दिए ।