बास्कोटाको पहलमा स्थानीय तहमा स्यानिटाइजर

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

पुर्व मन्त्री एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सदस्य तथा नेकपा काभ्रेका इन्चार्ज गोकुल बास्कोटाले राष्ट्रिय युवा संघ र अनेरास्ववियु काभ्रे मार्फत जिल्लामा रहेका ७ वटा स्थानीय तहमा दुई/दूई कार्टुन स्यानिटाईजर उपलब्ध गराएका छन् ।

स्थानीय तहमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिहरुका लागि पुर्व मन्त्री बास्कोटाले जिल्लाको मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा भुम्लु, चौरीदेउराली, तेमाल, खानीखोला र बेथान्चोक गाउँपालिकामा प्रति स्थानीय तह दुई/दुई कार्टुन स्यानिटाईजर उपलब्ध गराएको अखिलका केन्द्रिय सदस्य तथा नेकपा जिल्ला सदस्य जेनिस लामाले जानकारी दिनुभयो । राष्ट्रिय युवा संघ र अनेरास्ववियुको टोलीले जिल्लाका सातवटै स्थानीय तहमा पुगी जनप्रतिनिधिहरुलाई उक्त स्यानिटाईजर उपलब्ध गराएका छन् ।

अनेरास्ववियुका केन्द्रिय सदस्य जेनिस लामा, जिल्ला संयोजक उपेन्द्र शर्मा, राष्ट्रिय युवा संघका जिल्ला संयोजक विक्रम चौलागाई, सह संयोजक रसाजकुमार श्रेष्ठ, अखिलका केन्द्रिय सदस्यद्धय सुन्दर खड्का र शालिकराम पराजुली लगायतको समुह उक्त अभियानमा सक्रिय भएको छ । त्यस्तै जिल्ला सदस्यहरु मुकुन्द लामिछाने, मिलन गौतम, राष्ट्रिय युवा संघ बनेपा नगर अध्यक्ष रत्न श्रेष्ठ, अनेरास्ववियु पुर्व जिल्ला कमिटी अध्यक्ष नवराज ढकाल लगायतको सहभागिता रहेको थियो । अखिल र युवासंघले यस अघि पनि विभिन्न स्थानीय तहका नागरिकहरुलाई राहत उपलब्ध गराएको छ भने सुरक्षाकर्मीहरुको सुरक्षाका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् ।

स्थानीय श्रोत र साधनमा क्वारेन्टान

महाभारत गाउपालिकाले कोरोना भाईरस(कोभिड(१९ )को रोकथाम को लागि उच्च जोखिम वा शंस्कास्पद व्यक्तिहरुको लागि स्थानीय साधन स्रोतको अधिक्तम प्रयोग गर्दै ३५ बेडको क्वारेन्टाईन निर्माण गरेको छ ।

अध्यक्ष कान्छालाल जिम्बाका अनुसार महासिद्धि प्रा.वि.भवन एकिकरण पश्चात खाली भएकाले ८ बेडको क्वारेन्टाईन तयार गरिएको छ भने वडा नम्वर ५ को वडा कार्यालयमा ६ बेड, पुरानो गाउँपालिकाको भबनमा ७ बेड, घर्तिछाप स्वास्थ्य चौकीमा ४ बेड, भैरव मा.बि.को भबन धापमा ६ बेड र बाल उज्ज्वल प्रा.बि. मा ४ बेड गरि ३५ बेडको क्वारेन्टाई निर्माण भएको हो । क्वारेन्टाईनमा रहने ब्यक्तिहरुका लागि गुणस्तरीय खाना,स्वास्थ्य जाँच, सुरक्षा, व्यक्तिगत सरसफाईको किटबक्स सामान निशुल्क वितरणको व्यवस्था गरिएको छ ।

गाउँपालिकाले घरमै बसौ, सुरक्षित हौ, आफू बचौ, अरुलाई पनि बचाऔ भन्ने अभियानका साथ नागरिकहरुलाई भिडभाड नगर्न र त्यस्तो भिडभाडमा नजान अनुरोध गरेको छ । अध्यक्ष जिम्बाले महाभारत गाउँपालिकाले नागरिकहरुलाई कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका बारेमा जानकारी गराउँदै सचेतनामुलक कार्यक्रम गरिरहेको बताउनु भयो ।

ईलाका प्रहरीलाई पिपिई

ईलाका प्रहरी कार्यालय बनेपालाई काभ्रे उद्योग बाणिज्य संघ मार्फत दुई थान पिपिई उपलब्ध गराईएको छ । कोरोना भाईरसको संक्रमणको आशंकामा उद्धार गर्न खटिने क्रममा सुरक्षाकर्मीहरुको सुरक्षालाई ध्यान दिदै उद्योग बाणिज्य संघ मार्फत उक्त सामाग्री उपलब्ध गराईएको केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले जानकारी दिनु भयो ।

प्रहरीलाई पिपिईका साथमा केहि थान स्यानिटाईजर र मास्क उपलब्ध गराईएको छ । जिल्ला अध्यक्ष प्रकाश मानन्धर, उपाध्यक्ष बसन्त भोक्षिभोया, विभागिय संयोजक ग्रुवेन तौजले, महासचिव कैलाश पलाञ्चोके लगायतको टोलीले जिल्लाका विभिन्न स्थानमा खाद्यान्न लगायतका सामाग्रीहरु उपलब्ध गराएको छ । बाग्मती टिपर ब्यवसायी संघद्वारा घोषित १० टन चामल जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्वोरन्टाईनमा हस्तान्तरण गरिएको अध्यक्ष प्रेम लामाले बताउनु भयो ।

त्यस्तै एनएमवी बैक बनेपा शाखा र ओम शान्ति सहकारीले इलाका प्रहरी कार्यालय मातहका प्रहरी र बेथान्चोक गाउँपालिकाको वडा नम्वर ३ र ५ का १ हजार ५ सय घर धुरीका लागि हात धुने साबुन उपलब्ध गराएका छन् ।