थाहा नपामा सुविधासम्पन्न क्वारेन्टाइन, ३ महिनाका लागि स्वास्थ्यकर्मी नियुक्त

0
Shares

न्युज अफ नेपाल, हेटौंडा।

उत्तरी मकवानपुरको थाहा नगरपालिकाले कोरोनासँग लड्न जिल्लामै सुबिधासम्पन्न क्वारेन्टाइन तयार गरेको छ । आइसोलेसन वार्ड पनि त्यत्तिकै व्यबस्थित र वेलइक्युप्ड छन् । जनशक्ति पनि त्यत्तिकै जिम्मेदारीपूर्वक स्ट्याण्डबाई राखिएका छन् ।

थाहानगर–६ मा रहेको ओम् अध्याय रिट्रिट प्रालिले उपलब्ध गराएको २५ वटा कोठामा क्वारेन्टाइन संचालन गरिएका छन्, जसमध्ये ५ वटा हाइकेयर क्वारेन्टाइन कक्ष छन् भने २० वटा नर्मल क्वारेन्टाइन छन् । एक जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्स ३ महिनाका लागि नियुक्ति गरिएका छन् ।

विदेशबाट नगरभित्रिएकाको स्वास्थ्य परीक्षण गर्न घरमै मेडिकल अधिकृतको नेतृत्वमा प्रहरी र स्वास्थ्यकर्मीको समूह पठाउने व्यबस्था मिलाइएको छ । हरेक दिन विदेशबाट आउनेको अबस्था बुझ्ने व्यबस्था मिलाइएका कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सचिवालय संयोजक शाखा अधिकृत विवेक बिडारीले बताउनुभयो ।

वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा टोल बस्तीको क्लस्टर छुट्याएर निगरानी गर्ने व्यक्ति समेत तोकिएको छ । खाद्यान्नको आपूर्ति व्यबस्था, मूल्यसूची, दैनिक खाद्यान्नको स्टक व्यबस्थालगायत कुरालाई व्यबस्थित बनाइएको मेयर लवशेर बिष्टले बताउनुभयो ।

थाहानगर प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य परीक्षणको व्यबस्था मिलाइएको छ । दैनिकरुपमा कति संख्यामा कस्ता मानिस प्रवेश गरे भन्ने यकिन तथ्यांक नगरपालिकाले राखेको छ ।

यस अभियानमा प्रहरी, स्वास्थ्यकर्मी, नागरिक समाज, दलका प्रतिनिधिले हातेमालो गरिहेकोमा शाखा अधिकृत तथा सचिवालय संयोजक बिडारीले खुशी व्यक्त गर्नुभयो । उहाँका अनुसार आवश्यक स्वास्थ्य सामग्रीको व्यबस्थापन मिलाइएको छ । दक्ष जनशक्तिले दिनरात मेहनत गरिरहेका छन् ।

कोरोनाका कारण सबैतिर क्वारेन्टाइन बनाउने, आइसोलेसन निर्माण गर्ने, चिकित्सकका लागि पीपीई जोडजाम गर्ने, स्यानेटाइजर खोज्ने भागदौड चलिरहेको बेला थाहानगरले उक्त कार्यसहित केही भिन्न तरिकाले मेहनत गरिरहेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक नेपालले थाहानगरले तयार पारेका क्वारेन्टाइन र आइसोलेसन अवलोकनपछि भन्नुभयो–थाहानगरले गरिरहेको काम उदाहरणीय र प्रशंसनीय छ ।

थाहानगरले कोरोना रोकथाम तथा नियन्त्रण कार्यका लागि व्यबस्थित सूचना संकलन प्रणाली र प्रवाह गर्ने व्यबस्था मिलाएको छ । सूचना अधिकारी सुरजकुमार भुजेल दैनिकरुपमा दिनभरका गतिविधि प्रवाह गर्ने जिम्मेवारीमा खटिनुभएको छ ।

सतर्कता अपनाएर कार्यसम्पादन भइरहेको थाहामा र्‍यापिड रेस्पोन्स टिम परिचालन गरिएको छ । बाहिरबाट कोको आए, ती कहाँकहाँ छन्, उनीहरुको स्वास्थ्य अबस्था के छ आदि विषयमा दैनिक फलोअप गर्नेसहित सूचना संकलन र प्रवाहको काम तीव्र पारिएको छ ।

नगरका खाद्यान्न तथा तरकारी पसल संचालकले अनिवार्यरुपमा स्यानेटाइजर प्रयोग गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यबस्था मिलाइएको छ । ग्राहकलाई समेत स्यानेटाइजर र मास्क प्रयोग गर्न वडा कार्यालयमार्फत् व्यबस्था मिलाइएको सूचना अधिकारी भुजेलले बताउनुभयो ।