महानिरीक्षक पोखरेलको उपस्थितिमा निःशुल्क खाद्य सामग्री वितरण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामका लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्ति र ज्यालादारी गरी गुजारा चलाउने मानिसहरुमा समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसंगको सहकार्यमा निशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत छैठौंदिन शुक्रबार हिमालय वृद्धाश्रम केन्द्र गोगंबुमा आश्रित ३५ जना, अपाङ्ग आश्रय नेपाल मूलपानीमा रहेका ४५ जना र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु १७ जनालाई समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल आफै उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गर्नुभएको छ ।

मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु (चोरी, डकैति, हत्या, हिंसा ,ठगी)  रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताउनु भयो ।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनुहुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गर्नु भयो ।