कोरोना भाइरसको विकास प्रयोगशालामा सम्भव नहुने वैज्ञानिकहरुको दावी, प्राकृतिक क्रमिक विकासको नतिजा



वासिंगटन (एजेन्सी)

चीनको वुहान सहरबाट उत्पन्न भएको सार्स – सीओभी – २ कोरोना भाइरसलाई लिएर पश्चिमी सन्चार माध्यमको एक हिस्साले यो चीनले प्रयोगशालामा एक जैविक हतियारका रुपमा विकसित गरेको आरोप लगाइरहेको छ ।

 

यही आशयको वाट्सएप म्यासेज पनि भाइरल भइरहेको छ । तर नेचर मेडिसिन पत्रिकामा प्रकासित पछिल्लो एक शोधले यो भाइरस प्राकृतिक क्रमिक विकासको नतिजा भएको जनाएको छ । यो कुनै प्रयोगशालामा विकसित गरेको वा त्यसमा कुनै आणुवंशिक इन्जिनियरिंग गरेको कुनै प्रमाण फेला परेको छैन ।

अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटमा इम्युनोलोजी र माइक्रोबायोलोजीका एसोसिएट प्रोफेसर क्रिस्चियन एन्डरसनले भाइरसको उत्पत्ती प्राकृतिक भएको बताए । उनले भने – कोरोना भाइरसको ज्ञात किसिमका जीन सिक्वेसिंगका बारेमा उपलब्ध डाटाको तुलनापछि हामी दृढतापुर्वक भन्न सक्छु कि यो भाइरसको उत्पती प्राकृतिक प्रक्रियाबाट भएको हो ।

 

एन्डरसन र उनका सहयोगीहरुले भाइरसको उत्पती र उसको क्रमिक विकास थाहा पाउन भाइरसको आनुवंशिक डाटालाई विस्तार पुर्वक जाँच गरे । उनीहरुले भाइरसको विशिष्ट विषेशतामा आफनो ध्यान केन्द्रित गरेका थिए । वैज्ञानिकहरुले भाइरसको स्पाइक प्रोटिनको आणुवंशिक ढाँचाको जाच गरे । स्पाइक प्रोटिन भाइरसको बाहिरी हिस्सामा हुन्छ ।

 

भाइरस यो संरचनाको उपयोग मानव तथा जनावरको कोषहरुको पर्खालमा ताँस्सिएर त्यसमा संलग्न हुनलाई गर्छ । उनीहरुले स्पाइक प्रोटिनको दुई विशेष गुणमा ध्यान केन्द्रित गरेका थिए । हुक र क्यान ओपनर जस्ता यो गुणका मद्दतले भाइरस कोषहरुसम्म पुग्छन् ।

 

स्पाइक प्रोटिन जुन कुशलताका साथ जीवकोषसँग आवद्ध हुन्छ, त्यो जिन इन्जिनियरिंगबाट नभई प्राकृतिक चयन प्रक्रियाबाट मात्र आउन सक्ने वैज्ञानिकहरुले बताएका छन् । कोरोना भाइरसको प्राकृतिक क्रमिक विकासको प्रमाण भाइरसको सम्पुर्ण आणुवंशिक संरचनाको डाटाबाट प्राप्त हुन्छ ।

 

यदि कुनै एक नयाँ भाइरसलाई एक विषाणुका रुपमा परिवर्तित गर्न चाह्यो भने त्यसलाई एक त्यसतो भाइरसको आणुवंशिक संरचनाबाट निर्मित गर्नुपर्नेछ जसले रोग उत्पन्न गर्छ ।

 

तर वैज्ञानिकहरुले सार्स सीओवी – २ भाइरसको संरचना अहिलेसम्म ज्ञात सबै कोरोना भाइरसबाट भिन्न भएको र यो धेरै चमेरो र सालकमा रहेको भाइरससँग मिलेको बताएका छन् । भाइरसको विशेषता र उसको विशिष्ट संरचनालाई हेर्दा नयाँ कोरोना भाइरसको उत्पत्ती जिनको पुनसंरचनाबाट नभएको प्रष्ट भएको एन्डरसनले बताए ।

 

सार्स सीओभी – २ भाइरस यदि प्रयोगशालामा बनेको होइन भने कहाँबाट आयो भन्ने महत्वपुर्ण प्रश्न वैज्ञानिकहरु समक्ष तेर्सिएको छ । एन्डरसन र उनका सहयोगीहरुले यो भाइरसको आणुवंंशिक डाटाको विेश्लेषणपछि यसको उत्पतीका सम्बन्धमा दुई सम्भावना ब्यक्त गरेका छन् । पहिलो सम्भावना यो भाइरस कुनै जनावरमा प्राकृतिक चयनका माध्यमबाट वर्तमान घातक अवस्थामा पुगेको र त्यहाँबाट मनुष्यमा पुगेको भन्ने छ ।

 

अनुसन्धानकर्ताहरुले सार्स सीओवी–२ को मुख्य स्रोत चमेरो हुन सक्ने बताएका छन् । किनभने चमेरोमा भएको एक प्रकारको भाइरस कोरोना भाइरससँग धेरै मिल्दोजुल्दो पाइएको छ । यद्यपी चमेरोसँग मानवको प्रत्यक्ष सम्पक रहेको कुनै घटना अगाडी आएको छैन । सोधकर्ताहरुले कुनै विचौलिया जनावरको माध्यमबाट यो भाइरस मनुष्यमा पुगेको हुन सक्ने अनुमान गरेका छन् ।

 

अर्को सम्भावना भनेको यो भाइरस कुनै जनावरबाट मनुष्यमा प्रवेश भएपछि रोगजनक रुपमा विकसित भएको हुनसक्छ । सार्स–सीओवी–२ को संरचनामा अंकुश जस्तो विशेषता सालकको कोरोना भाइरसको गुणसँग मिल्दोजुल्दो छ ।

 

त्यसैले यो भाइरस सालकबाट सिधै वा सिवट वा फेरेट (बिरोलो जस्तो जनावर)को माध्यमबाट मानवमा पुगेको हुन सक्ने प्रवल सम्भावना छ ।
कोरोना भाइरस भन्दा पहिला सार्स र मेर्स महामारी सिवट र उँटबाटै मानवको प्रत्यक्ष सम्पर्कमा फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्