कोरोनाविरुद्ध खेल क्षेत्रको सहयोग

0
Shares

कविरस शर्मा, काठमाडौँ ।

विश्व अहिले कोरोना भाइरसको महामारीबाट नराम्ररी ग्रस्त बनिसकेको छ। नेपाल लगायत विश्व भरिका २ सय भन्दा बढी देशमा यो रोगका संक्रमितहरु फेला परिसकेका छन् । यस्तो दर्दनाक अवस्थामा एक अर्काको सहयोग गर्ने भावना बढेको छ । आ–आफ्नो क्षमता अनुसार सहयोग गर्ने लहर विश्वभरि नै बढ़्न थालेको छ। जसमा अन्य ब्यवसायिक क्षेत्रलेझै खेलकुद क्षेत्रसँग सम्बद्धहरुले पनि अघि बढेका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा खेलाडी तथा खेल संघहरुले आ–आफ्नै तरिकाले सहयोग गर्न थालेका छन् ।

टेनिस स्टार रोजर फेडेरर र उनकी श्रीमती मिर्काले स्वीट्जरल्यान्डका कोरोनाबाट असुरक्षित परिवारलाई एक मिलियन स्विस फ्रान्क सहयोग गरेका छन् । उनीहरुले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्न अपिल समेत गरेका हुन् ।स्वीट्जरल्यान्डमा अहिलेसम्म १० हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन्। जसमध्ये सयौ ब्यक्तिले ज्यान गुमाइसकेका छन् । त्यस्तै केही गत साता अघि मात्र विम्बल्डन च्याम्पियन सिमोना हालेपले आफ्नो देश रोमानियामा मेडिकल सामाग्री खरिदका लागि आर्थिक सहयोग जुटाएकी थिईन् ।

त्यस्तै वर्तमान फुटबलजगतका नक्षत्रद्वय लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले पनि कोरोनाविरुद्धको अभियानमा सहयोग गरेका छन् । उनीहरुले जनही १ मिलियन यूरो सहयोग गरेका हुन् । मेसीले स्पेनको बार्सीलोनामा रहेका अस्पताल तथा क्लिनिकका लागि उक्त रकम प्रदान गरेका हुन् । त्यस्तै रोनाल्डोले पनि पोर्चुगलको लिस्बन र पोर्टोमा रहेका अस्पतालमा आवश्यक सामाग्रीका लागि उक्त रकम सहयोग गरेका छन् ।

त्यस्तै बार्सिलोनाका पुर्व प्रशिक्षक तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कोरोना भाइरस (कोभिड–१९) विरुद्वको अभियानमा स्पेनको क्याटलान अर्थात्बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका छन् ।

उनले कोरोना संक्रमणबिरुद्व लड्न क्याटलान क्षेत्रको क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि १ मिलियन युरो रकम सहयोग गरेका हुन् । उक्त सहयोग रकम बार्सिलोनाको मेडिकल कलेज र डेनियल फाउन्डेसनद्वारा सञ्चालित अभियानका लागि बताइएको छ ।

ग्वार्डि ओलाको सहयोग रकम अस्पतालमा भर्ना भएका र उपचारमा संलग्न अस्पतालका कर्मचारीको लागि मेडिकल उपकरण र सुरक्षा सामाग्री खरीदमा खर्च गरिनेछ ।

कोरोना विरुद्धको सहयोगमा क्लियनएम्बाप्पे, डेभिड हे गेया लगायत अन्य खेलाडीहरुको नाम जोडिदा स्पेनका स्टार खेलाडीहरु सर्जियो रामोस, जेरार्ड पिके र सेन्टीकार्जाेलाको नामपनि सहयोग प्रदान गर्नेमा थपिएको छ । स्पेन तथा रियल मेड्रिडका कप्तान रामोस, बार्सिलोनाका जेरार्ड पिके र भिया रियलका सान्टीकार्जाेलाले शनिबार आयोजना भएको लालिगा सान्तडोरफेस्टमार्फत् सहयोग रकम जुटाएका हुन् ।

कोभिड–१९ विरुद्ध संगीत र फुटबल भन्ने नारा दिइएको सो कार्यक्रमले स्पेनका केही लोकप्रिय कलाकार र फुटबल स्टारहरुको संयोजन गरेको थियो । जसबाट ५ सय ७० मिलियन पाउन्ड रकम संकलन भएको दावी गरिएको छ । यसबाट संकलित रकम मेडिकल सामाग्री खरिदका लागि प्रयोगमा आउनेछ ।रामोस, पिके र कार्जाेला भिडियो कन्फ्रेसमार्फत् सांगितिक कार्यक्रममा जोडिएर सहयोगको घोषणा गरेका हुन् । उनीहरुसँग स्पेनका पुर्व अन्तर्राष्ट्रिय खेलाडी फर्नान्डो मोरिएन्टेज, रियल सोसिडाडकाएसियर इललारामेन्डी र रियल मेड्रिडका लुकास भास्क्वेज पनि जोडिएका थिए ।

स्पेन कोरोनाबाट प्रभावित युरोपको दोस्रो राष्ट्र हो । कोरोनाकै कारण स्पेनमा अप्रिल ३० सम्मको फुटबल स्थगित गरिएको छ । १८ अप्रिलमा तय भएको एथ्लेटिको बिल्वाओ र रियल सोसिडाडबीचको कोपा डेल रेको फाइनल समेत पछि धकेलिएको छ ।

यता इंग्लिश प्रीमियर क्लब ब्राइटन र बाउर्न माउथले पनि १ लाख वटा टिकट बराबरको रकम चिकित्सक तथा स्वास्थकर्मीलाई उपलब्ध गराउने भएका छन् । त्यस्तै दुई साता अघि जर्मन राष्ट्रीय टिमले पनि २.७ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो। त्यसैगरी इंग्लिश प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्ने सेनेगलका खेलाडी साडियो मानेले पनि आफ्नो देशमा कोरोनाविरुद्धको अभियानका लागि ५० हजार अमेरिकी डलर सहयोग गरेको थियो । त्यस्तै विश्व फुटबलको सर्वोच्चनिकाय फिफाले पनि १० मिलियन डलर सहयोग गरिसकेको छ ।

यसैगरी भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पनि कोरोनाविरुद्धको अभियानमा ‘पीएम–केयर्स–फन्ड’मा ५१ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ । बीसीसीआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, बोर्डका पदाधिकारी र अन्य राज्य संघले शनिबार पीएम केयर्स फन्डमा ५१ करोड रुपैयाँजम्मा गरेका हुन् । त्यस्तै मास्टर ब्लास्टरबाट परिचित भारतीय क्रिकेट लेजेन्ड सचिन तेन्दुलकरले पनि उक्त फन्डमा ५० लाख भारतीय रुपैयाँ सहयोग गरेकाछन् । त्यसैगरी पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रीदीले पनि आफ्नो देशमा कोरोनाबाट मर्कामा परेका नागरिकहरुलाई आवश्यक दैनिक उपभोग्य सामाग्री उपलब्ध गरेका छन् । यता बंगलादेशी राष्ट्रिय क्रिकेट टिमले पनि आफ्नो मासिक तलबको आधा रकम कोरोना भाइरसविरुद्धको अभियानमा सहयोग गर्ने भएका छन् । जुन३० हजार अमेरिकी डलर बराबर रहेको छ । ती बाहेक खेल गतिविधि ठप्पका कारण तलब र ज्याला नपाएका खेल कर्मचारीलाई खेलाडीहरुले सहयोग जुटाएका छन् ।अहिले विश्वभर लगभग सबै ठूलाखाले खेलकूद प्रतियोगिता स्थगित अथवा मिति सारिएका छन् । जसका कारण त्यससँग सम्बन्धित कर्मचारीको दैनिक ज्याला र तलब पनि रोकिएका छन् । ती सबै कर्मचारीको आवश्यकतालाई ध्यानमा राखि क्लब तथा खेलाडीहरुले पनि सहयोग जुटाएका छन् ।