कारागारमा कोरोना संक्रमणको त्रास, २ सय ४१ कैदीबन्दी मध्ये एक रिहा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला कारागार कार्यालय काभ्रे र बाल सुधार गृहमा रहेका मध्ये सर्वाेच्चले दिएको आदेश अनुसार छाड्न मिल्ने प्रस्ताव गरिएका ९ कैदीबन्दी मध्ये एक जना मात्रै छाड्न जिल्ला अदालत काभ्रेले फैसला गरेको छ ।

जिल्ला कारागार कार्यालय काभ्रेबाट पाँच जना र बाल सुधार गृहमा रहेका मध्ये चार जनाले कोरोना संक्रमणको त्रासमा घर जाने गरी निवेदन दिएका थिए । बाल सुधार गृहमा रहेका तीन जनाको मुद्दा चालु अवस्थामा रहेकाले कैदको फैसला भई नसकेको भन्दै अदालतले छाड्न मानेन ।

त्यस्तै अर्का एक बालक जर्बजस्तिकरणी मुद्दामा बाल सुधार गृहमा पठाईका थिए । अभिभावकहरु मध्ये बुबा आमा हुँदा हुँदै भिनाजुले जिम्मा लिने भनि निवेदन दिएकाले अदालतले छाड्न मानेन । जिल्ला अदालत काभ्रेका श्रेस्तेदार ठाकुरनाथ त्रितालका अनुसार जिल्ला कारागार कार्यालय काभ्रेले पठाएका पाँच कैदी बन्दी मध्ये चारजनालाई बहुविवाह सम्वन्धी मुद्दा अभियोगमा छाड्न नमिल्ने आदेश भएको छ । एक जनालाई कैद भुत्तान बाँकी अवधीको जरिवना लिएर छाड्न आदेश भएको छ । उनी सवारी ज्यान मुद्दाका हुन् ।

जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकले सर्वाेच्च अदालतको आदेश अनुसार मुलुकी संहिताको दफा ५१ अनुसार पहिलो पटक कसुर गरी एक वर्ष वा सो भन्दा कम सजाँय पाई कारागार रहेका कैदी बन्दीहरुको हकमा कैद भुक्तान बाँकी अवधीको जरिवना राजश्व असुल गरी जिल्ला अदालतको इजलासमा पेश गरेको थियो । कारागार कार्यालय काभ्रेका प्रमुख जङ्गबहादुर राईका अनुसार जिल्ला कारागार कार्यालयमा उक्त मापदण्ड अनुसारका ५ जना कैदी बन्दी पठाईएको जानकारी दिनु भयो । जिल्ला अदालत काभ्रेका जिल्ला न्यायाधीश पुरुषोतम ढकालले कारागार कार्यालय काभ्रेबाट पेश भएका कैदी बन्दीहरुको फाईलमा सरकारी वकिल कार्यालयको राय माग गर्ने आदेश भएको जानकारी दिनु भयो । जिल्ला सरकारी वकिल कार्यालयले सर्वाेच्च अदालतको आदेश अनुसार भएकाले सरकारी वकिल कार्यालयको राय नचाहिने भन्ने जवाफ प्राप्त भए जिल्ला अदालतको इजलाशले उक्त निर्णय गरेको न्यायाधीश ढकालले बताउनु भयो ।

जिल्ला कारागार कार्यालय काभ्रेको क्षमता ७५ मात्रै हो । तर कारागारमा अहिले २ सय ३७ कैदी बन्दी छन् । बालसुधार गृहका चार जना सहित २ सय ४१ जना मध्ये एक जनालाई मात्रै छाड्ने आदेश भएको अदालतले जानकारी दिएको छ । १९ जना मानसिक रोगका कैदी बन्दी रहेको जेलर राईले बताउनु भयो । जेलका कैदी बन्दीहरुलाई आवश्यक पर्ने औषधी केहि दिन अघि युवा संघ काभ्रेले इन्सेक काभ्रेको पहलमा उपलब्ध गराएको थियो ।