कोरोना संक्रमित दुईको दोस्रो पटकको परिक्षण पनि पोजेटिभ

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ ।

कोरोना संक्रमित टेकु अस्पतालमा उपचार गराईरहेका काठमाडौकी युवती र धादिङका युवा दुबैको दोस्रो पटकको ल्याब परिक्षणको नतिजा पुनः पोजेटिभ आएको छ । त्यसैले उनीहरुको उपचार अवधि लम्बिएको छ र ४८ घण्टा पछि पुन थ्रोट स्वाव झिकेर परीक्षणमा पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित युवती चैत्र ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी हुन् भने युवा चैत्र ६ गते मा युनाइटेड अरव इमिरेटस्को सारजहाँबाट काठमाडौँ आएका हुन् । उनीहरु दुबैलाई कोभिड १९ को संक्रमण प्रमाणित भएपछि टेकु अस्पतालमा उपचार भैरहेको छ । संक्रमण मुक्त नभए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक गत मंगलबार थ्रोट स्वाव संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । बुधबार आएको रिपोर्टमा पुनः पोजेटिभ देखिएकाले उपचार अवधि लम्बिएको टेकु अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले बताउनुभयो ।

आज सम्म नेपालमा टेकू बाहेक सेती प्रादेशिक अस्पताल धनगढी र बागलुङ अस्पतालमा गरी थप दुई जना कोभिड – १९ संक्रमित उपचाररत छन् र उनीहरुको पनि दास्रोपटक नमूना संकलन भैसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी गराई सक्नुभएको छ । उपत्यका बाहिरका दुईजनाको भने रिपोर्ट आउन बाँकी नै छ ।