दिपायलबाट प्रदेश प्रहरी कार्यालय र अस्पताल सार्ने कुरा रोकियो

0
Shares

विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रदेश प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी अस्पताल सार्ने कुरो हाललाइ रोकिएको छ ।

डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा उक्त निर्णय हाललाइ रोकिएको हो । दिपायल बाट उक्त कार्यालयहरु कैलाली जिल्ला सार्ने प्रहरी प्रधान कार्यालय नक्सालको पत्र आएसंगै डोटीमा निकै बिबाद सुरु भएको थियो । डोटीबाट प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सार्ने भन्नेबारे मैले जानकारी पाएपछि गृहमन्त्री रामबहादुर थापा र गृह सचिब महेश्वर न्यौपाने, प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार विष्णु रिमाल, प्रमुख स्वकीय सचिब राजेश बज्राचार्य संग कुरा गरेर प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल नसार्ने बिषयमा आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल नसार्न मैले आग्रह गरे लगत्तै सम्बन्धित निकायबाट नसर्ने भन्ने जानकारी आएको छ, कुनैपनि हालतमा दिपायलमा रहेको प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सर्ने छैन् ।”

डोटीको बिकासका लागि आफु जनप्रतिनिधी भएकाले डोटीमा भएका कार्यालय कुनै पनि ठाउँमा सार्न खोजिए त्यसको खुलेर बिरोध गर्ने समेत संघीय सांसद आलेमगरले बताउनुभयो । उहाँले थप भन्नुभयो, “डोटेली नागरिकले मलाइ बिकास गर्न चुनेको हो अरु नेता जस्तो तास फिटेर बस्नलाइ नेता बनाएको हैन, मेरो जिल्लाका कार्यालय सार्नेका बिरुद्ध हिजो पनि लागे अझैपनि लाग्ने छु, कार्यालय सार्ने दुस्प्रयास कसैले नगरे हुन्छ ।” डोटीबाट प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल नसार्ने भन्ने जानकारी आएपछि अहिले यहाँका स्थानीयबासीहरु निकै खुसि भएको स्थानीयबासी तथा सञ्चारकर्मी झलक पालीले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल र प्रहरी कार्यालय नसर्ने भन्ने खबर आएको छ,जुन खबरले यहाँका नागरिक खुसि भएका छन्, राम्रो काम गर्ने लाइ हाम्रो साथ र सहयोग सधै हुने छ ।”

डोटीको दिपायलबाट राजधानी कैलालीमा सरे संगै यहाँ भएका क्षेत्रीय स्तरका कार्यालयहरु पछिल्लो समय धमाधम सारिन थालेका छन् । दिपायलमा भएका कार्यालयहरु सारिन थालेपछि यहाँ भएका भौतिक संरचनाहरु खण्डहर बन्दै गएको भन्दै स्थानीयहरु आक्रोसित बन्न थालेको दिपायल पिपल्लाका स्थानीय जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “दिपायलमा भएका कार्यालय कैलाली सारिदैछन, यहाँ भएका भवन खण्डहरु बन्दै गएका छन्, गणतन्त्रको बिकास यहि हो ।”

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय तथा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल तत्काल कैलालीमा सार्न प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले गत सोमवार निर्देशन सहितको पत्र पठाएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयले पत्र पठाएर तत्काल कार्यालय सार्न निर्देशन दिए संगै कार्यालय र अस्पताल सार्ने तयारी भएको निमित्त प्रदेश प्रहरी प्रमुख तथा एसएसपी देवबहादुर बोगटीले जानकारी दिभयो । प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सार्ने निर्देशन दिएपछि अहिले यहाँका बासिन्दा निकै आक्रोशित भएका थिए ।

आक्रोशित व्यक्तिले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा समेत उक्त निर्णयको विरोध गरेका थिए । प्रहरी प्रधान कार्यालयले पठाएको उक्त पत्रमा दिपायलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रहरी अस्पतालमा भएका भवन अर्को आदेश नभएसम्मका लागि प्रदेश प्रहरी तालीम केन्द्र दिपायललाइ दिनू भन्ने उल्लेख गरिएको छ ।