१ सय ४९ लाई प्रहरीले दियो ‘कोरोना’ र ‘लकडाउन’को प्रशिक्षण

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल प्रहरीले सरकारले दोश्रो पटक ७ दिनका लागि थप गरेको लकडाउन सर्वसाधारणले उल्लंघन गरे पछि जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बनेपा तथा मातहतका प्रहरीचौकीहरु मार्फत १ सय ४९ जनालाई पक्राउ गरी कोरोना संक्रमण र सरकारले गरेको लकडाउनका बारेमा प्रशिक्षण दिईएको छ ।

‘लकडाउन कार्यान्वयन गराउने क्रममा जिल्लाका सबै प्रहरी चौकी र मातहतका निकायलाई दिएको निर्देशन अनुरुप १ सय ४९ जनालाई पक्राउ गरी प्रशिक्षण दिईएको हो’–एसपी रविकुमार पौड्यालले भन्नुभयो–‘इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले पोलिटेक्निकल स्कुलको प्राङ्गणमा दुई चरणमा प्रशिक्षण दिएर रिहा गरिएको छ ।’ प्रहरी निरिक्षक तिमल्सिनाले पक्राउ परेकाहरुलाई कोरोनाको संक्रमण र लकडाउनको अवस्थाका बारेमा जानकारी गराउँदै आईन्दा सरकारका निर्णयहरु कार्यान्वयन गर्ने प्रतिवद्धता सहित रिहा गरिएको बताउनु भयो । पक्राउ परेकाहरुलाई पानी, पाउरोटी सहितका खानेकुराहरु पनि उपलब्ध गराईएको थियो । लकडाउनको उल्लघंन भएको भन्दै सर्वसाधारणले आलोचना गरे पछि प्रहरीले लकडाउनमा कडाई गरेको हो ।

त्यस्तै लकडाउनको आठौ दिनसम्म प्रहरीले विभिन्न स्थानबाट ४ सय भन्दा धेरै सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ । चैत्र १८ गते दुईवटा कार, २३ वटा मोटरसाईकल, ४ वटा स्कुटर नियन्त्रणमा लिएको छ । लक डाउनको दोश्रो दिनमा प्रहरीले विभिन्न स्थानबाट २ सय भन्दा धेरै सवारी साधन नियन्त्रणमा लिएको थियो । हरेक दिन प्रहरीले लकडाउन उल्लघन गरी सवारी साधन चलाउनेहरुलाई नियन्त्रणमा लिई कारवाही गरिरहेको प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिनु भएको छ ।

लकडाउनको अवधीमा प्रहरीले अत्यावश्यक सेवाहरुलाई निर्वाध सञ्चालन गर्न दिईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनु भएको छ ।