चीनबाट ल्याइएका उपकरण विराटनगर पुर्‍याइयो

0
Shares

सरोज यादव, विराटनगर

संघीय सरकारले चीनबाट खरिद गरेर ल्याइएका एक हजार थान पिपिई नेपाली सेनाको एनए ०६३ स्काई ट्रकबाट विराटनगर ल्याइएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा उपचारमा संलग्नका स्वास्थ्यकर्मीका लागि प्रयोग हुने अत्यावश्यक सामाग्री सोमबार विराटनगर ल्याइएको हो । नेपाल सरकारले आइतबार चीनबाट स्वास्थ्य उपचारमा प्रयोग हुने सामाग्री काठमाडौँ ल्याएसँगै नेपाली सेनाको एनए ०६३ स्काई ट्रकमा विराटनगर ल्याइएको हो। प्रदेश एकको लागि ल्याइएको समानका विषयमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलो चरणमा स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीई आएको जानकारी दिनुभयो ।

मन्त्री घिमिरेका अनुसार तत्कालका लागि विमानबाट १ हजार थान पीपीई आएको छ। संख्यात्मक रुपमा पीपीई कम आएको बताएका मन्त्री घिमिरेले तत्काल कोरोना उपचारको विषयमा सेवा दिँदै आएका विराटनगरको कोशी र धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र निर्माण भइरहेको अर्को एक अस्पताललाई पहिलो चरणमा पीपीई उपलब्ध गराउने जानकारी दिनुभयो । पीपीई वितरणबारे योजना बनाएको बताएका मन्त्रीले निर्माण भइरहेको एक अस्पताललाई २ सय वटा, वीपी र कोशी अस्पतालमा समान १ सय ५० वटा, मेची अस्पतालमा ४६ वटा उपलब्ध गराउने जानकारी दिनुभयो ।

प्रदेश सरकारले स्थानीय तहको संख्याको आधारमा मोरङमा ३४, सुनसरी २४ धनकुटा १४, तेह्रथुम १२, संखुवासभा २०, भोजपुर १८, सोलुखुम्बु १६, उदयपुर १६, खोटाङ २०, झापा ३०, पाँचथर १६, ताप्लेजुंड १८, ईलाम २०, र ओखलढुंगामा १६ वटा पीपीई उपलब्ध गराउने छ । स्वास्थ्यकर्मीको स्वास्थ्य प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका मन्त्री घिमिरेले कोरोनामा उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवास खानपिन, भत्ता, बीमा लगायतको सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । यसैगरि थप बाँकी सेनेटाइजर, मास्क, पञ्जा लगायतका अन्य सामाग्री सडकमार्फत ल्याउने तयारी भएको प्रदेश सरकारले जनाएको छ।