मजदुर परिवारलाई नगरपालिकाद्वारा खाद्यान्न सहयोग

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिकाले नगरका गिट्टी कुटेर गुजरा गर्ने विपन्न परिवारलाई सोमवार राहात स्वरुप वितरण गरेको छ । लकडाउनका कारण काममा जान नसकेका मजदुरलाई नगरपालिकाले खाद्यान्न वितरण गरेको हो ।

दैनिक गिट्टी कुटेर परिवार पाल्दै आइरहेका नगरपालिकाका अति विपन्न ३३ परिवारलाई सोमवार राहत स्वरुप खाद्यान्न नगरप्रमुख खड्ग बहादुर खत्रीले वितरण गर्नुभएको हो । लकडाउनले दैनिक गिट्टी कुटेर परिवार पाल्दै आएका मजदुरहरुलाई खाद्यान्न अभाव हुन थालेपछि राहत वितरण गरिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले बताउनुभयो ।

नगरपालिकाले प्रतिव्यक्ति २० किलो चामल, तिन किलो दाल, एक किलो नुन, दुई किलो आलु, एक किलो चिनी, एक लिटर तेल, एक किलो चिनी, बेसार वितरण गरेको छ ।

सरकारले लकडाउनको समय थप गर्दै आगामी चैत २५ गते सम्म पुर्याएको छ । लकडाउनका कारण नगरक्षेत्रका कुनै पनि नागरिककको चुलो निभ्न नदिने नगरप्रमुख खत्रीले बताउनुभयो । उहाँले नगरले पहिलो चरणमा मंगलवार सम्म नगरक्षेत्रका ६६ गिट्टी कुटेर गुजरा गर्ने विपन्न परिवारलाई राहात वितरण गर्ने बताउनुभयो ।

दोस्रो चरणमा नगरपालिकाले निःशुल्क स्वास्थ्य विमा गरिदिएको ३९४ मजदुरहरुका लागि राहातको प्याकेज ल्याउने नगरप्रमुख खत्रीले जनाउनुभयो ।