रगत अभाव हुन नदिन टोलटोलमा रक्तदान

0
Shares

पुष्करराज बुढाथोकी, भक्तपुर ।

रगत नपाए भक्तपुर जानु भन्ने नारा अघि सारेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले रगतको व्यवस्थापनमा असहजताका बीच पनि स्वयंसेवी रक्तदाताको सहयोगमा सहज व्यवस्थापन गर्न प्रतिवद्ध रहेको जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि भएकोे लकडाउनका समयमा पनि एक सय जना भन्दा बढी रगत लिन भक्तपुर रक्तसञ्चार केन्द्र आउने गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापाले बताउनुभयो । सबै घरभित्र हुनुहुन्छ, रक्तदान कार्यक्रम भएका छैनन्, यो अवस्थामा रगतको व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ, थापाले भन्नुभयो । रगतको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको सृजना नहोस् भन्नकालागि स्वयंसेवी रक्तदाता सहयोगमा टोलटोल तथा घरघरमा पुगी रगत संकलन गरिएको थापाको भनाई छ ।

काठमाडौं तथा भक्तपुरका विभिन्न स्थानमा पुगी शाखाले रगत संकलन गरीराखेको छ । हामी नियमित रक्तदाताहरुलाई फोन गर्छौं । उहाँहरुले बोलाउनुभएपछि उहाँको घरमै पुग्ने र रगत संकलन गर्ने गरेको जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले बताउनुभयो । सोही समयमा घरसँगै भएका अन्य रक्तदातालाई पनि अनुरोध गरी रगत संकलन गर्ने गरिएको मन्त्री पाण्डेले बताउनुभयो ।
प्राविधिक र रक्तदाताको स्वास्थ्य सुरक्षामा सजग

रक्तदाता र रगत लिने प्राविधिकको स्वास्थ्य सुरक्षालाई पनि भक्तपुर शाखाले ध्यान दिएको सभापति थापाले बताउनुभयो । जिल्ला शाखाले रक्तदान कार्यक्रममा हिड्ने प्राविधिक र एम्बुलेन्स चालकलाई पिपिई सेट, माक्स र पञ्जा उपलब्ध गराएको बताउँदै थापाले भन्नुभयो, रक्तदाताहरुलाई तोकिएको दुरीमा राखेर एक पटकमा तिन जना सम्मको मात्रै रगत लिने गरेका छौं । रक्तदानमा खटिने प्राविधिक र रेडक्रस स्वयं सेवक मार्फत तत्कालै विदेशबाट फर्किएका व्यक्तिहरु भेट भएमा स्वास्थ्य संस्थाको सम्पर्कमा जान वा सुरक्षित बस्नका लागि समेत आग्रह गरिएको सभापति थापाको भनाई छ ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले तिन दिन लगातार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लकडाउनका कारण भएको रगतको कमीलाई सहज तुल्याउन नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले तीन दिनसम्म निरन्तर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

शुक्रबार, शनिबार र आइतबार उपशाखा क्षेत्रका चाँगुनारायण नगरपालिका वडा  ८ को डाँडागाउँ, भण्डारी टोल र रत्नागीरी होटल कलमसी गरी तीन टोलमा आयोजना भएको रक्तदान कार्यक्रममा७३ जनाले रक्तदान गर्नु भएको छ ।

कोरोना भाइरसको प्रभाव कम गराउनका लागि गरिएको लकडाउनका समयमा हुन सक्ने रगतको मागलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरीएको नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाका सभापति विदुर नेपालले बताउनुभयो ।

लकडाउनका समयमा पनि रगतको अति आवश्यक पर्ने विरामीहरु हुने भएकोले सुरक्षित तवरले रक्तदान गर्नका लागि जिल्ला शाखा भक्तपुरले आव्हान गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज कुमार थापाले भन्नुभयो, “तपाई घरभित्रै सुरक्षित रुपमा बस्नुहोस् । रक्तदानका लागि समय पुगेको रक्तसञ्चार केन्द्र दुधपाटी भक्तपुर वा तपाईको नजिकै रहेको रेडक्रसका उपशाखालाई जानकारी गराउनुहोस् । हामी तपाईकै घरमा आएर रगत संकलगर्ने छौं ।”