झापा कारागारद्वारा कैद मिनाहाका लागि ८४ कैदीबन्दीको नाम सिफारिस

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेका छन् ।

कोभिड— १९ कोरोना भाइरसको त्रास बढेसँग गृह मन्त्रालय अन्तरगतको कारागार व्यवस्था विभागमा झापा कारागारले एक वर्षसम्मका कैद, ज्येष्ठ नागरिक र ५० प्रतिशत कैद भुक्तान भइसकेका ८४ जनाको नाममा सिफारिस गरेको कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिनुभयो । कैद मिनाहा गर्न सकिने कैदी बन्दीको नामावली विभागले माग गरेपछि उनीहरूको नाम पठाएको उहाँले बताउँनुभयो ।

कारागार प्रशासनले दिएको जानकारी अनुसार एक वर्षसम्मका कैद भएका ४० जना, २९ जना ज्येष्ठ नागरिक र १५ जना ५० प्रतिशत कैद भुक्तान गरिसकेका र नेगेटिभ मुद्दा नभएका कैदीको नाम सिफारिसका लागि पठाएको छ ।

महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बमोजिम चार दिनअघि झापा जिल्ला अदालत भद्रपुरमा दुई जनाको नाम सिफारिस गरी कैद मिनाहाका लागि पठाएको भएपनि अदालतबाट निर्णय भइनसकेको उहाँको भनाइ छ । हाललाई कारागार लकडाउनमा राखिएको छ । कारागारमा हाल १०३५ जना पुरुष, ७८ जना महिला कैदी बन्दी रहेको जनाइएको छ ।