रसुवामा २९ पर्यटकको उद्धार

0
Shares

रसुवा ।

लकडाउनका कारण रसुवामा अलपत्र परेका २९ पर्यटकलाई रसुवा जिल्ला प्रशासन कार्यालयले आज उद्धार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार हिमाली पदयात्रामा रसुवा पुगेका पर्यटकलाई उद्धार गरी काठमाडौंँ पठाइएको छ । लाङ्टाङ तथा बृद्विम क्षेत्रको भ्रमणमा रहेका बेलायती, जर्मनेली, अमेरिकी र अष्ट्रलियाली पर्यटकलाई उद्धार गरी सडक मार्गबाट काठमाडौँ जाने अनुमति दिएको बताइएको छ । एक हप्ताअघि ती पर्यटक रसुवा पुगी हिमाली पदयात्रा गर्दैगर्दा लकडाउनका कारण रोकिएको प्रहरीले बताएको छ ।

लकडाउनको पूर्ण पालना

कोरोना भाइरस नियन्त्रण गरी नेपाली जनताको जीउज्यान सुरक्षा गर्न सरकारले लागू गरेको लकडाउन घोषणा रसुवालीले पूर्णरूपमा पालना गरेका छन् । कालिका गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामहरि देवकोटाका अनुसार चीनसँग जोडिएको जिल्ला भए पनि हालसम्म कोरोना भाइरसको लक्षण नभेटिएको र पूर्वसावधानीका लागि सरकारले देशैभर लागू गरेको लकडाउन रसुवालीले घरघरमा बसेर कार्यान्वयन गरिरहेको पाइएको छ ।

बढी जनघनत्व भएको क्षेत्र दक्षिणी रसुवास्थित जिबजिबे ग्रामीण अस्पतालमा पाँच चिकित्सक नियमित बस्ने र कुनै रोग लाग्नासाथ समयमै उपचार पाइन्छ भन्ने जनविश्वास रहेकै कारण सरकारको निर्देशन र चिकित्सकले दिएको सुझाव ग्रामीणवासीले पूर्ण पालना गरिरहेको बताइएको छ ।

कोरोना भाइरस सङ्क्रमण भइहालेमा रोगसँग लड्ने क्षमता बढाउन स्थानीय बासिन्दाले दही, दूध, स्थानीय साग, तरकारी, स्थानीय जातका मकै तथा कोदोको पिठोबाट तयार गरिएका ढिँडोको भोजन गरिरहेको जिबजिबेका बासिन्दाले बताएका छन् ।

जिबजिबे ग्रामीण अस्पताल दक्षिणी रसुवाको बीच भागमा भएका कारण सरमथली, यार्सा, भोर्ले, धुसेनी, सरसिउँ, घोर्मु, बेताङ, धुसेनीलगायतका बासिन्दालाई उपचारमा पायक पर्ने ग्रामीण अस्पतालका मेडिकल अधिकृत डा पंकज लुइँटेलले बताउनुभयो ।