स्थानीय तहलाई २५ लाख उपलब्ध गराउन कांग्रेसको माग

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रीको उपस्थिति थियो ।

मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएसँगै स्थानीय विपद् व्यबस्थापन समितिलाई सहयोग गर्ने बाटो खुलेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

आइतवार बसेको विपद् व्यबस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रुपमा बनेका विपद् व्यबस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले महानगरका समितिलाई २० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाख र गाउँपालिकालाई १० रुपियाँ दिने निर्णय गरेको छ । जिल्ला समन्वय समितिमा बनेको समितिलाई ५ लाख दिने निर्णय भएको छ ।

उक्त रकम कोरोना संक्रमण रोकथाम एवम् उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, विपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सकिने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

बागमती प्रदेशका सबै स्थानीय तहलाई २५ लाख उपलब्ध गराउन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले माग गरेको थियो । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई सहयोग गर्न बागमती प्रदेशका सबै स्थानीय तहलाई २५ लाख उपलब्ध गराउन कांग्रेस संसदीय दलले प्रदेश सरकारसँग माग गरेको हो ।

कांग्रेस संसदीय दलले आइतबार ध्यानाकर्षण जारी गर्दै प्रदेश सरकारले तत्काल सहयोग उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ । कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा जारी पत्रमा दैनिक उपभोग्य सामग्री सर्वसाधारणलाई सहज उपलब्ध गराउन, उद्योग कलकारखाना बन्द हुँदा उद्योगी व्यबसायीलाई पुगेको क्षति कम गर्न सहुलियत प्याकेज ल्याउन र प्रदेशका १३ वटै जिल्लामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री यथाशीघ्र उपलब्ध गराउन कांग्रेसले माग गरेको छ ।