हेटौंडामा डिसइन्फेक्टेन्ट छर्किन सुरु

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन मुख्य बजार क्षेत्रमा डिसइन्फेक्टेन्ट छर्किन सुरु गरेको छ ।

हेटौंडाको चौकीटोल लोकप्रिय होटलदेखि मेनरोडको मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक, राप्तिरोड, सीमाचोक, कान्तिलोकपथ, स्कुलरोडलगायत क्षेत्र जीवाणुमुक्त बनाउन डिसइन्फेक्टेन्ट छर्किएको हो ।

उपमहानगर उपमेयर मीनाकुमारी लामाको नेतृत्वमा नगर प्रहरी, उपमहानगरपालिका वातावरण शाखाका कर्मचारी, सफाइ कर्मचारीलगायतको सहभागितामा बजारका चोक, नाली, वरपरका बिरुवामा डिसइन्फेक्टेन्ट छर्किएको हो । यो अभियान निरन्तर गरिने उपमेयर लामाले बताउनुभयो ।

हेटौंडाका विभिन्न बस्तीमा आउजाउ गर्न सदरमुकाम पुग्नुपर्ने भएकोले बजार क्षेत्रका ठाउँ ठाउँमा औषधि छर्किएको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो । कर्मचारीलाई सक्रिय गराएर कोरोनाविरुद्ध अभियानमा लागिएको उहाँले बताउनुभयो ।
मुखमा मास्क, हातमा पञ्जा लगाएर बजारमा औषधि छर्कने अभियानमा वातावरण शाखाका कर्मचारी र नगरप्रहरी लागिपरेका छन् ।