यस्तो छ सुर्यविनायक नपाको कोभिड १९ नियन्त्रणको सकृयता

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुर सुर्यविनायक नगरपालिकाले नेपाल सरकारले कोभिड १९ को संक्रमण रोकथामका लागि आब्हान गरे बमोजिम नगरपालिका भित्रका नागरिकहरुलाई लक्षित गरी हाललाई एक सय कोठा वरावर क्षमताको क्वारेन्टाइन वार्ड व्यवस्थापनका लागि स्थान पहिचान सहित सम्पूर्ण ब्यवस्था मिलाइएको जनाएको छ । नगरपालिका अस्पताल, दधिकोटमा कोभिड १९ को आकस्मिक ब्यवस्थापनका लागि सम्वन्धी सुरक्षा सामाग्रीहरु तयारी अवस्थामा राखिएको नगरप्रमुख बासुदेब थापाले बताउनुभयो ।

नगरपालिकाभित्र कोभिड १९ लक्षण देखिएका विरामीहरुको सेवा पुर्याउने एम्वुलेन्स चालकहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराइनुका साथै एम्वुलेन्स समेत सुरक्षित गरी तयारी अवस्थामा राखिएको प्रमुख थापाले बताउनुभयो ।

उहाँले विदेशबाट विगत दुई हप्ता भित्र यस नगरपालिका क्षेत्र भित्र आएका नागरिकहरुको विवरण वडागत रुपमा संकलन गरिएको बताउनुभयो ।ती नागरिकहरुलाई घर भित्रै आइसोलेसनमा वसी स्वास्थ्य सतर्कताका लागि अनुरोध गरिएको र कोही कसैले अटेर गरी नियमको पालना नगरेको पाइएमा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिने नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारले तोकेको अनिवार्य सेवाहरु वडा समितिले सुचारु गर्न व्यवस्था मिलाउने ,वडागत रुपमा घर परिवारको विवरण संकलन गरी अप्ठ्यारो अवस्थामा नेपाली सेनाको वरदल गण,नेपाल प्रहरी र नगरपालिकाको संयुक्त पहलमा घरदैलोसम्म नै खाद्य सामाग्रीहरु उपलब्ध गराउन संयन्त्र र वितरण प्रणाली बनाउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताउनुभयो ।

वडागत रुपमा खाद्य तथा तरकारी जस्ता सामाग्रीहरुको पसल खोल्ने निश्चित समय तोक्ने, प्रत्येक पसलमा अनिवार्य रुपमा सावुन पानीले हात धुने ब्यवस्था मिलाउने र पसल धनीले समेत आवश्यक स्वास्थ्य सर्तकता अपनाउन प्रत्येक वडा समितिबाट अनुगमन गर्ने र आपूर्ति ब्यवस्थालाई सहज बनाउन आपूर्ति अनुगमन वडा समिति मार्फत गर्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

सुक्खा खोकी, उच्च ज्वरो र थकाई लाग्ने लक्षण देखिएमा आफ्नै घरमा आइसोलेसनमा बस्न वडागत रुपमा अनुरोध गर्ने र स्वास्थ्य अवस्था विग्रदो भएमा थप चेक जाँचका लागि नजिकको स्वास्थ्य संस्था वा वडा स्थित निर्वाचित जनप्रतिनिधिलाई तत्काल खवर गरी सहयोग लिन अपील गर्ने नगरपालिकाको निर्णयमा उल्लेख छ ।

नगरपालिका र वडा समितिबाट नेपाल सरकारले घोषणा गरेको लक डाउनको पूर्ण पालना गराउन ब्यापक प्रचार प्रसार गर्ने गराउने र विश्व महामारी कोडिभ १९ फैलिन नदिन सबैलमा सहयोगको लागि नगरवासीमा आब्हान गरिएको ज्ञवालीले बताउनुभयो ।