कोरोनाको सारथि सालक ? मकवानपुरमै पाइन्छन् चमेरो र सालक

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

 

सम्भवतः नेपालमा पहिलो पटक सालक संरक्षणको अभियान हेटौंडामा रहेको रानी बनले शुरु गरेको थियो भने हाल आधा दर्जन बढी बन समूह संरक्षणको अभियानमा जोडिएका छन् ।

 

रानी बनले २०६२ सालमा पहिलो पटक सालक संरक्षण शुरु गरेको थियो । बनले आफ्नो क्षेत्रको करिब २० हेक्टर क्षेत्र नेपालको दुर्लभ बन्यजन्तु सालकका लागि छुट्याएको छ ।

 

बन क्षेत्रका सात वटा ब्लकमध्ये दुईवटा ब्लक सालक संरक्षणका लागि छुट्याएर बन्यजन्तु संरक्षणमा उत्कृष्ट योगदान पु¥याएको रानीले बन्यजन्तु संरक्षण प्रथम पुरस्कार प्राप्त गरेको छ ।

 

सर्वमान्य गणेशमान सिंह बन संरक्षण प्रथम पुरस्कार २०५७ प्राप्त गर्न सफल उक्त समूहमा संरक्षित सालक हेर्न र यसबारे अध्ययन÷अवलोकन गर्न देशभरका समूह हेटौंडा आइसकेका छन् ।

 

बनको ब्लक नम्बर–१ र ३ लाई ‘सालक संरक्षित क्षेत्र’ बनाएर लोपोन्मुख एवम् संरक्षित सूचीमा रहेको सालकलाई समूहले सालक संरक्षण गर्न थालेको हो । सालक जोगाउन सालकको आहारा कमिला र धमिराको गोलो संरक्षणमा स्थानीय उपभोक्ता जुटेका छन् ।

 

सालक नेपालका २६ वटा संरक्षित बन्यजन्तुमध्ये एक हो । लजालु जीव र तस्करको आँखामा परेको सालकको मासु र खपटा तस्करी हुने गर्दछ । बनविज्ञान स्नातक तहका विद्यार्थीका पाठ्यक्रममा समावेश सालकका बारेमा पढ्न वर्षेनि सयौं विद्यार्थी उक्त बन समूह पुग्छन्, प्रत्यक्ष हेर्छन् र त्यसको संरक्षणका लागि योजना बनाउने गर्छन् । सरकारले दुर्लभ वन्यजन्तुको सूचीमा राखेको लजालु जनावर मकवानपुरको एक संस्थाले संरक्षण गर्दै आएको छ भने अर्कोतिरको गाउँमा तस्करी फस्टाएको छ ।

 

‘हामीले संरक्षण गरिरहेको बनमा कम्तिमा दुई दर्जन सालक छन्,’ रानी बन समूह अध्यक्ष कृष्ण बिडारीले भन्नुभयो–केही समयअघि केही मकवानपुरगढी क्षेत्रका स्थानीयले अवैधरुपमा सालक मारेर मासु खाएको मैले सुनेको थिएँ । त्यसो भए त यसले जोखिम अझ बढाउने भयो नि ।

 

मकवानपुरको बिकट खैराङमा बेलाबेलामा सालक तस्करको बिगबिगी बढ्ने गरेको छ । ग्रामीण जनताको अज्ञानताको फाइदा उठाउँदै सालक किन्न मकवानपुरकै डाँडाखर्क र छिमेकी धादिङको ताल्तीबाट तस्करहरु आउँछन् । प्रतिसालक चालीस हजार दिने भन्दै तस्करहरुले गाउँलेलाई उक्साउँदा कान्सिराङ, लाइबाङ, तेन्सुराङ र रानी बनलगायत जंगल क्षेत्रबाट प्राकृतिकरुपमा संरक्षित सालकको संख्या घट्दै गएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

 

एक चेपाङ परिवारले पाल्नको लागि भनेर जंगलबाट ल्याएको सालक मरेपछि त्यस परिवारले पोलेर खाएको सम्झँदै मल्लले पैसाको लोभ र अज्ञानताका कारण गाउँलेले सालक मारिरहेको उहाँले बताउनुभयो । गाउँलेले ‘बनमाछा’ भनेर चिन्ने सालकको खपटा भने उनीहरुले बेच्छन् । माछाजस्तै स्वाद र गन्ध हुने भएकोले सालकलाई उनीहरु ‘बनमाछा’ भन्ने गरेको अध्यक्ष मल्लले सुनाउनुभयो ।

 

खैराङकै छिमेकी भार्ताको वडा नम्बर–२, ३ र ७ को सिमानामा पर्ने सालबास जंगलमा तस्करहरु टेन्ट गाडेरै बस्ने गरेका छन् । मकवानपुरकै डाँडाखर्क, आग्रा र गोगनेसहित धादिङको ताल्तीबाट गाउँ पुगेका तस्कर समूह केही दिन त्यहीं रहेर सालक लैजाने गरेको गाउँलेहरु बताउँछन् । प्रशस्त सालक पाइने भएकाले गाउँलेले जंगलको नाम नै सालबास राखेका हुन् । उक्त क्षेत्र मकवानपुरको पश्चिमी ब्यापारिक केन्द्र मनहरीबाट ८ घण्टा हिँडेर पुगिन्छ ।

 

तर, पछिल्लो समय कोरोना भाइरस सालककै माध्यमबाट मानिसमा सरेको खबर धमाधम सार्वजनिक हुन थालेपछि संरक्षण कार्यमा जुटेका अभियन्ताहरु नै चिन्तित देखिएका छन् ।

 

चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दो भाइरस भेटिएको छ । यसअघि चमेराले कोभिड–१९ मानिसमा सारेको वैज्ञानिकहरुले बताइरहेका थिए ।

 

नेचर जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार कोभिड–१९ सँग मिल्दो भाइरस सालकको शरीरमा देखिएको छ । यससँगै सालकले कोरोना भाइरस मानिसमा सारेको हुनसक्ने वैज्ञानिकले बताएका छन् । सालक सबभन्दा बढी तस्करी हुने जनावर हो ।

 

‘सालकमा औषधीजन्य गुण हुन्छ’ भन्ने धारणा व्यापक छ । यस्तो धारणा रहेसम्म यसको ब्यापार र किनबेच रोकिने छैन । विश्वमा नै सन्त्रास फैलाइरहेको कोरोना भाइरस चमेरोमा उत्पत्ति भएको पुष्टि भयो ।

 

तर, मानिसमा यो भाइरस कुन जीवले सा¥यो भन्नेबारे जवाफमुक्त विश्वले हालै यसको जवाफ पाएको छ–सालक (म्यानिस क्रसिक डाटा र म्यानिस पेन्टाडक्टाइला) ।

 

सबभन्दा मुख्य आशंका सालकमाथि नै थियो  । पश्चिमी विश्वमा अज्ञात रहेको यो जीव चिनियाँमाझ भने खाना र औषधिका रुपमा परिचित छ । जबकि, कोरोनाको उत्पत्तिस्थल चीन नै हो ।

 

कोभिड–१९ संक्रमण सारेको आशंकापछि सालकलाई हेर्ने दृष्टि सायद विश्वमै परिवर्तन भयो होला । चीनले तीन दशकदेखि सालकको ब्यापारमा प्रतिवन्ध लगाउने प्रयास गरिरहेको छ । तर, यति लामो समयपछि पनि सालक विश्वको सबभन्दा धेरै बेचबिखन हुने स्तनधारी जनावर हो । सन् १९८० को दशकमा चीनले ३ सय ३० लोपोन्मुख प्रजातिको सूची निकालेर संरक्षण कानुन ल्याएको थियो । कानुनले सालकको अवैध शिकार वा ब्यापार गर्नेलाई जेल सजायको व्यबस्था गरेको थियो ।

 

सन् ६५२ मा लिएको सुन सिमिआयोको चिकित्सकीय सुझावमा ‘सालक नखानू, यसले विभिन्न हानि निम्त्याउँछ’ भनेर लेखिएको छ । अर्का ऐतिहासिक चिकित्सकीय लेखक ली सिझेनले ‘सालक खाएमा पखाला लाग्ने, जिउ काम्ने र ज्वरो आउने’ लेखे ।

 

सालक एक लोपोन्मुख बन्यजन्तु हो । यो जनावर प्रायः नेपाल, भारत, चीन लगायत दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भुभागमा पाइन्छ । यसको शरीरमा ठुला कत्लाले ढाकेको हुन्छ । यसबाहेक खपटामुनि पहेँला जगरजस्ता रौं पनि उम्रेका हुन्छन् । यी रौं कत्लाको बीचबाट बाहिर निस्केको देखिन्छ र रौं धेरै हुँदा सालक सुनौलो पहेँलो रंगको देखिन्छ । यसले पुच्छरको सहायताबाट रुखको हाँगामा झुण्डिन सक्छ ।

 

यो जनावरले आफुलाई खतरा महसुस भए त्यसबाट जोगिन गुँडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ । यसरी जोगिन आफ्ना बलिया मांसपेशीको पकडले एकै ठाउँमा टाँसिएर गुँडुल्किरहन सक्छ ।

 

विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालकमात्र पाइन्छन् । २ हजार ५ सय मिटर उचाईंको सालको जंगलमा भेटिने सालकको दाँत हुँदैन । तर, ६० देखि ७० सेन्टिमिटरसम्म फैलने यसले जिब्रोले प्रायः धमिरा र कमिला खान्छ । राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुटयाउन मुस्किल पर्छ । कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।

 

एउटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ । सालकले किसानको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ । हामीलाई नोक्सान गर्नसक्ने कीरा र धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव पनि हो ।

 

तर, केही वर्षयता यो जीव संकटमा छ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्ने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित बन्यजन्तुको सूचीमा राखेको छ ।

 

साइटिसले यसको व्यापार व्यबसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करहरु सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्छन् । कयौं तस्कर समातिएका पनि छन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ ।

 

यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ । सालक मारे वा यसको अंगको ब्यापार गरे ४० देखि ७५ हजार रुपियाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने कानुन छ ।

 

विश्वमा दुर्लभ मानिएको संरक्षित जनावर सालकको संरक्षण गर्ने उद्धेश्यले हेटौंडा–१७ मा ‘सालक पार्क’ निर्माण गरिएको छ । यस्तो पार्क नेपालमा सम्भवतः यो पहिलो हो । उक्त पार्क हाल पर्यटकको गन्तव्य बन्दै गएको छ । स्थानीय बन समूहले सालकको बासस्थान, आहार, प्रचारप्रसार, कानुनी प्रावधान, जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

 

सालकको चोरीशिकारी हुने गरेको छ । सालकको खपटाबाट ज्याकेट बनाउने र गुम्बामा राख्ने चलन छ । स्थानीय बन समूहहरुले सालक संरक्षणका लागि बन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी उपयुक्त वातावरण तयार गरेका छन् । दिउँसो नदेखिने र रातको समयमा सक्रिय हुने हुँदा यसको चोरीशिकारी हुनुका साथै कुकुरले मारेर खाने गरेको भेटिएकोले पार्क नै बनाएर संरक्षणको थप प्रयास गरिएको हो ।

 

सालक नेपालका २६ वटा संरक्षित बन्यजन्तुमध्ये एक हो । लजालु जीव र तस्करको आँखामा परेको सालकको मासु र खपटा तस्करी हुने गर्दछ । सालकबारे जानकारी दिन मकवानपुरका पर्यटकीय क्षेत्रहरु, चुरियामाई मन्दिर, राजमार्ग, बन कार्यालयलगायत क्षेत्रमा होर्डिङबोर्ड राखिएका छन् ।

 

समूहले पर्यापर्यटनका माध्यमबाट दीगो आयआर्जनका लागि पार्कको अवधारणा अघि सारेको हो । बन समूहले २ करोड ७९ रुपियाँ लागतमा तत्कालनि एवम् दीर्घकालिन कार्ययोजनासहित काम गरिरहेको समूह अध्यक्ष चुच्चेखोला सामुदायिक बन अध्यक्ष अर्जुनप्रसाद दाहालले बताउनुभयो । करिब १७ बिगाहा क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि केबुलकार, आकाशे पुल, पौडी पोखरी, खेलमैदान, बुद्ध मूर्ति, दक्षिणकाली मन्दिर, भ्युटावरलगायतको अवधारणा अघि सारिएको छ ।

 

बनविज्ञान स्नातक तहको पाठ्यक्रममा समावेश सालकबारे पढ्न वर्षेनी सयौं विद्यार्थी स्थानीय बन समूहमा पुग्छन्, प्रत्यक्ष हेर्छन् र त्यसको संरक्षणका लागि योजना बनाउने गर्छन् । सालकबारे जनस्तरसम्म जानकारी पु¥याउन विश्व बन्यजन्तु कोषअन्तर्गत् सञ्चालित तराई भूपरिधि कार्यक्रमसँग सम्झौता गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

कोरोनाको अर्को कारक मानिएको चमेरो निकै पाइने मकवानपुरको अतिबिकट मनिने राक्सिराङ गाउँपालिकाले स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिए त्यसको परीक्षणका लागि प्रतिबिरामी ५ हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

 

गाउँपालिकाको विपद् व्यबस्थापन कोषको रकमबाट कोरोना परीक्षणको लागि आर्थिक सहयोगका साथै निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउने निर्णय गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो– ‘हाम्रो गाउँपालिका निकै बिकट र यहाँको आर्थिक विपन्नताको अबस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कोरोनाको लक्षण देखिए पनि आर्थिक अभावका कारण रोग लुकाएर बस्नुपर्ने अबस्था नआओस् भन्नाका लागि तत्काल आर्थिक सहयोग गर्ने घोषणा गरेका हौं ।’