लकडाउन घोषणा भएपनि पर्वतका मानिस दैनिक काममा व्यस्त

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना (केभिड १९)को संक्रमण फैलन नदिन गरिएको लक डाउनको पर्वतमा पहिलो दिनको प्रभाव मिश्रित देखिएको छ ।

लक डाउनको पहिलो दिन बजारमा घर बाहिर निस्कने र जिल्ला प्रबेश गर्ने क्रम नरोकिएको तथा गाउँमा प्रभाव नै खासै नपरेको देखिएको हो ।

पर्वत जिल्लामा पनि शनिबार बिहान देखि नै घर बाहिर ननिस्कन, अत्याबश्यक बाहेक सबै पसल र पेशा ब्यबसाय बन्द गर्न प्रशासनले सुचना जारी गरेको थियो । प्रहरी परिचालन गरेर सम्झाउने प्रयास भएपनि कुस्मा लगायतका मुख्यबजारमा मानिसहरु बाहिर निस्कने क्रम रोकिएन भने कास्कीबाट सयौको संख्यामा मानिसहरु डिमुवाबाट जिल्ला प्रबेश गरेका छन । गाउँघरमा मानिसले लक डाउनको समयमा पनि अघिल्ला दिनहरुमा जस्तै सामान्य दैनिकीमा दिन बिताएको पाइएको छ ।

प्रहरीले सम्झाउँदा समेत बजारमा घर बाहिर निस्कने, समुहमा बस्नेहरु अहिले पनि पुरै नियन्त्रण नभएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । ‘हामीले सम्झाउँदा समेत अटेरी गर्ने काम भएको छ।’ उहाँले भन्नुभयो ‘भोली देखि पनि अटेरी भएमा कडा कदम चाल्छौ’ ।

डिमुवाबाटै एकैदिन चार सय प्रबेश

जो जहाँ बसेको छ त्यही सुरक्षित रुपमा क्वारेन्टाइनमा बस्नका लागि सरकारले लक डाउन गरेको हो तर बसेको ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण फैलन ठुलो जोखिम रहन्छ । बजारमा बसेकाहरु सुरक्षित भन्दै गाउँ फर्कने र पोखरा लगायतका ठाउँबाट पनि गाउँ जाने क्रम चलिरहेको छ ।

पर्वत जिल्ला भित्रने मुख्य नाका डिमुवाबाट मात्रै झण्डै ४ सय यात्रु मंगलबार मात्रै जिल्ला प्रबेश गरेका छन । पर्वत जिल्ला सहित धौलागिरी डिमुवामा सञ्चालन गरेको स्वास्थ्य सहायता कक्षमा मंगलबार दिउँसो ४ बजेसम्म २ सय ३ जनाको स्वास्थ्य परिक्षण गरि जिल्ला प्रबेश गरेका थिए । कास्की हुँदै पर्वत जिल्ला भित्रने सम्पूर्ण यात्रुहरुको स्वास्थ्य परिक्षण गरिएको मोदी गाउँपालिकाका मोदी गाउँपालिकाका प्रवक्ता एवम् मोदी ६ तिलाहारका वडाअध्यक्ष विमल लामिछानेले जानकारी दिए । जिल्ला भर लक डाउन भए पनि केहि पैदल यात्रु अझै पनि जिल्ला भित्रिएका छन ।

मालबहाक सवारीलाई पनि प्रतिवन्ध लगाइएको छैन । कास्कीले जिल्ला भित्र प्रतिबन्ध नलगाएका कारण नयाँपुल आउने र हिडेरै डिमुवा आई जिल्ला प्रबेश गर्न खोजेका छन । यसलाई नरोक्दा सम्म लक डाउन प्रभावकारी हुन नसकेको गुनासो सामाजिक सञ्जालमा गरिएको छ ।

गाउँमा सामान्य दैनिकी

कोरोनाको संक्रमण फैलन नदिन देश नै लक डाउन गरिएपनि गाउँघरमा यसको सामान्य पनि प्रभाब परेको देखिएको छैन ।

किसानहरु खेतबारी, मेलापात र जंगलमा पुगेर घाँस दाउरा गरिरहेका छन । गाउँमा पनि घर भित्रै बस्नुपर्छ , भीडभाड गर्नु हुँदैन भन्ने सन्देश अझै नपुगेको देखिएको छ । शहरबजारमा पेशा ब्यबसाय र अध्ययनका लागि गएकाहरु समेत गाउँमा फर्किएका छन भने कारोनाको संक्रमण फैलिएपछि बिदेशबाट फर्केकाहरु पनि गाउँमै पुगेका छन ।

सावधानी नअपनाउने हो भने गाउँमा संक्रमण फैलन सक्ने सबैभन्दा बढी जोखिम देखिएको छ। महाशिला गाउँपालिकाको वडा नं ५ ले बिदेशबाट फर्केका ७ जनाको खोजी गरि घरमै क्वारेन्टाईनमा बस्न आग्रह गरिसकेको छ । फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भलिबल खेल्ने, घरबाहिर निस्कने क्रम नरोकिएको देखिएकाले सावधानी अपनाउनका लागि सबै जनप्रतिनिधी, सरोकारवालाहरुलाई परिचालन गरिएको बताउनुभयो ।