म्याग्दीमा आजदेखि एक सातासम्म निषेधाज्ञा जारी, अवज्ञा गर्नैलाई कारवाही

0
Shares

न्युज अफ नेपाल, म्याग्दी ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रोकथामलाई प्रभावकारी बनाउन म्याग्दीमा आज दिउँसो १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले चैत ११ गते दिउँसो १२ बजेदेखि आउँदो १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम म्याग्दी जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । नेपाल सरकारले तोके बमोजिमको अत्यावश्यक सेवा बाहेकका अन्य सबै बजार बन्द गराउनका लागि प्रहरीले माइकिङ गरेर सर्वसाधारणलाई सूचना समेत दिएको छ ।

कुनै पनि सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधनहरु प्रयोगमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरिएको छ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनसम्बन्धी सवारीसाधनहरु भने आवश्यकता अनुसार सञ्चालन हुने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

निषेधाज्ञाको उल्लङ्ंघन गरेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही समेत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोनाको जोखिमलाई ध्यानमा राखेर म्याग्दी प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा तथा स्वास्थ्य चेकजाँचलाई कडा पारिएको छ ।

यसैगरी गलेश्वरको ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिक तथा जिल्ला कारागार कार्यालयका कैदी बन्दीहरुलाई भेट्न समेत आंशिक रोक लगाइएको छ । भीडभाड हुने क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा सतर्कतालाई चुस्त पारिएको छ । बजार क्षेत्र पुरै बन्द रहेको छ भने सवारीका साधनहरु पनि पूर्ण रुपमा बन्द भएका छन् ।