कोरोना प्रभाव : क्षतिपूर्ति दिएर कुखुरा नष्ट गर्न आग्रह

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण दाना उद्योग बन्द भएको र किसानले पालेका कुखुरा मर्ने अबस्थामा रहेको भन्दै मकवानपुर कुखुरा व्यबसायी संघले किसानका खोरका कुखुराको उचित क्षतिपूर्ति दिएर नष्ट गर्न प्रशासनसमक्ष माग गरेको छ ।

कुखुरा व्यबसायी संघ अध्यक्ष राजु अधिकारीले सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ध्यानकर्षणपत्र बुझाउँदै सरकारले किसानलाई उचित क्षतिपूर्ति दिएर कुखुरा नष्ट गरिदिन आग्रह गर्नुभएको हो । संघले ध्यानाकर्षणपत्र बागमती प्रदेशको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयलाई समेत बुझाएको छ ।

दाना खान नपाएर खोरमै कुखुरा मरेमा किसानको अर्बौं डुब्नुका साथै मरेका कुखुराको व्यबस्थापन गर्न कठिन हुँदा मानव स्वास्थ्यमा ठूलो असर पर्ने भन्दै संघले ध्यानाकर्षणपत्र बुझाएको हो ।

बजारमा जिउँदो कुखुराको मूल्य निकै सस्तो भइरहँदा पनि उपभोक्ताले सस्तोमा मासु खान नपाएकोमा संघले चिन्ता व्यक्त गरेको छ । किसान मूल्य सस्तो हुने तर उपभोक्ता मूल्य भने सधैं उस्तै रहने अबस्था अन्त्य गर्न प्रशासनले उपभोक्ता मूल्य कायम गरी लागु गराउनसमेत माग गरिएको छ । कोरोनाका कारण दाना उत्पादन र आयात बन्द हुँदा मकवानपुरका करिब १ हजार ५ सय कुखुरापालक किसानका करिब ३ अर्बभन्दा बढी लगानी डुब्ने अबस्था छ ।

‘कुखुरापालनबाट मासु र अण्डामा आत्मनिर्भरताको बाटोमा अघि बढ्दै गरेको अबस्थामा कुखुरा र अण्डाको मूल्य अत्यधिक घटेका कारण किसान घाटामा छन्,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।