बझाङमा कोरोना भाइरस नआओस् भनी सुर्मादेवी मन्दिरमा खड्ररात्री भाकल

0
Shares

ललित सिंह, बझाङ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१) लाई महामारीको रुपमा घोषित गरिसकेको छ ।

नेपाल सरकारले यसको संक्रमण हुन नदिन सोमबारदेखि देश नै लक डाउन गरेको छ । बझाङमा पनि कोरोना भाइरसको संक्रमण हुुन नदिन उच्च सतर्कता अपनाइएको यहाँका निकायले बताइरहँदा बजारमा हुने चहलपहल, सवारीआवागमन, मेलापर्व र भाकल निर्वाधरुपमा भइरहेका छन् । बझाङ जिल्ला अन्य जिल्लाभन्दा कोराना संक्रमणको जोखिममा छ ।

बझाङबासीहरु प्रायः भारतका विभिन्न शहर, खाडी मूलुक र नेपालकै विभिन्न शहरी क्षेत्रमा काम काजका क्रममा पुग्ने गरेका छन् । सरकारले देशभर नै लकडाउन गरेपछि अहिले शहर केन्द्रित रहेका उनीहरु सुरक्षित हुने आशामा जिल्ला फर्किएका छन् । जिल्लाभर २८ स्थानमा हेल्थ डेस्क स्थापना गरिए पनि भिडभाड र जनशक्ति अभावले राम्रोसँग चेकजाँक हुन सकेको छैन ।

यहाँका १२ वटै स्थानीय तहले आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्किन आग्रह गरे पनि बझाङबासी भने अटेरी गर्दै पसल, उद्योग व्यवसाय, सवारीसाधन निर्वाध रुपमा सञ्चालन गरिरहेका छन् । भारत लगायतका ठाउँबाट आएका बझाङबासीले धनगढी र महेन्द्रनगरबाट भरिएका १५ यात्रुबाहक बस मंगलबार मात्रै बझाङ भित्रिएका छन् ।

बजार क्षेत्रमा मानिसको चहलपहल उतिकै बढिरहेको छ । बढी भीडभाड हुने सरकारी तथा गैरसरकारी कार्यालयमा अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरुमा उच्च निगरानीसहित सेवा प्रवाह भइरहेको छ । लामो दुरीका सवारीसाधन बन्द गरिएको भए पनि ग्रामीण सडकहरुमा जाने यातायातका साधनहरु भने चलिरहेका छन ।

स्थानीय सरकारले नागरिकहरुलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरिरहेका छन् । जनप्रतिनिधिहरु घरघरमै पुगेर मास्क र सेनेटाइजर वितरण गरिरहेका छन् । ‘कोरोनाको संक्रमण हुन नदिन नागरिकहरु सचेत बनाउन सबै सञ्चार माध्यमहरुमा जानकारी गराएको जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पनि जति सम्झाउ पनि यहाँका स्थानीय नमान्ने र अझें थाहा नपाएको हुनाले मंगलबार पनि अरुदिन जस्तै सामान्य भएको बताए ।

सुर्मा गाउँपालिकामा महिलाहरुको भाकल

सुर्मागाउँपालिकाले पनि अत्यावश्यकिय काम बाहेकका सबै सेवाहरु चेत २१ गतेसम्मका लागि बन्द गरेको छ । तर पनि सुर्मा गाउँपालिका वडा नम्बर २ का महिलाहरु भने कोराना भाइरसलाई आफ्नो गाउँपालिकामा भित्रन नदिन भन्दै संयुक्त रुपमा सुर्मादेवी मन्दिर विभिन्न स्थानीय मन्दिरमा गइ भाकल गरिरहेका छन् । आफूले पटक–पटक भेला, जमघट नहुन आग्रह गरेपनि स्थानीय अटेरी गरिरहेका सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए ।

छबिसमा काँक्रे औंसी

छविसपाथिभेरा गाउँपालिकामा लाग्ने सुदूरपश्चिमको बान्नी मेलाको तयारीका लागि स्थानीय तयार भइ काँकर ल्याउन जङ्गल तर्फ लागेको बताइएको छ । परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्न सुर्मादेवी प्रकट भइ महिषासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ । होली पूर्णिमाको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । मष्टा मन्दिरमा काँकर चढाउने प्रचलन रहेकाले काँकर ल्याउन ठूलो संङख्यामा युवाहरु जङगल तर्फ लागेका छन् ।

यसरी सरकारले घरबाहिर ननिस्कन आग्रह गरेका बेला छबिसपाथिभेरा गाउँपालिकाले त्यस क्षेत्रका बासिनदालाई किन रोकेन भन्ने हाम्रो प्रश्नमा गाउँपालिकाकी उपाध्यक्ष राधिका रताला जोशीले रोक्न नमिल्ने बताइन् । यो मेलालाई रोक्दा वंश नाश हुने र त्यस क्षेत्रका बासिन्दालाई झन् संकट देखापर्ने उनको तर्क छ । आफ्नो काम परेकाले एक स्थानीयले परापूर्वकालमा मेला अलि पछि सारौं भन्दा ती व्यक्तिको वंश नाश भएको उदाहरण दिदै उपाध्यक्ष जोशीले मेलालाई रोक्न नमिल्ने बताइन् ।

यता त्यस क्षेत्रकै बासिन्दा समेत रहनुभएका पूर्व वनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य भानुझक्त जोशीले भने मेला नगर्न आफूले आग्रह गर्दा पनि अटेरी गरेको भन्दै दुख व्यक्त गरेका छन् । उनले भने, ‘मैले धार्मिक आस्था हटाउँ भनेको छैन । यस्तो महामारीले संसार नै आक्रान्त बनिरहेका बेला यी मेला नमनाऔं भन्दा मेरो घरकै सदस्यले कुरो सुनेनन् । तर यो मेला सञ्चालन गर्नु उपयुक्त होइन । म दुखकासाथ भन्छु देवी देवता पनि मानिसकै सुख र खुसीका लागि हुन् । जसरी हुन्छ मेला नमनाउन आग्रह गर्दछु ।’

यसअघि यस मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं दर्शनार्थी मेला भर्न आउने गर्थे ।