क्वारेन्टाइनका लागि त्रिविले ६३ वटा क्याम्पस उपलब्ध गराउने,आइसोलेसनबारे स्थानीय तहलाई अझै सोच्न बाँकी

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

त्रिभुवन विश्वविद्यालयले सरकारको आवश्यकताका आधारमा सबै आंगिक क्याम्पस उपलब्ध गराउन सकिने जनाएको छ।त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले हिजो सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई लिखित प्रतिबद्धतापत्र दिँदै कोरोना संक्रमण हुनबाट बचाउन त्रिवि सबै सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ।

देशभरका ६३ वटै आंगिक क्याम्पस र अन्य भवन जुनसुकै अवस्थामा प्रयोग गर्न दिन तयार रहेको उहाँको भनाइ थियो।उपकुलपति प्राडा बाँस्कोटा भन्नुभयो– ‘हामीसँग कोरोना भाइरस संक्रमण परीक्षण गर्ने ल्याब छ, केही किट ल्याएर सरकारले जुनसुकै बेला परीक्षण गर्नसक्ने व्यवस्था मिलाएका छौं, त्रिवि परिसरका दुई ठूला भवनमा तत्काल क्वारेन्टाइन बनाउन सकिन्छ। त्रिवि आफ्ना कर्मचारीसमेत परिचालन गर्न तयार छ।’

यसैबीच संघीय मामिला तथा समान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीको अध्यक्षतामा हिजो सोमबार बसेको बैठकमा सबै स्थानीय तहका मेयरहरूले कार्यविधि नभएकाले तत्काल आइसोलेसन र क्वारेन्टाइनका लागि स्थान उपलब्ध गर्न समस्या भएको बताउँदै जनताको जिउधनको सुरक्षा गर्ने प्रमुख जिम्मा आफूहरूको भएकाले त्यसमा कुनै समस्या नलिन आग्रह गरेका थिए।

‘स्थानीय तहले भ्याएसम्म क्वारेन्टाइन निर्माण गर्नेछौं तर जनताको हितका लागि आइसोलेसन कक्ष निर्माण गर्ने विषयमा पुनः छलफल गर्नुपर्ने अवस्था आउँछ।’

मन्त्री त्रिपाठीले कोरोना भाइसरसँग जुध्न सबैको सहयोगको अपेक्षा गर्दै आइसोलेसन र क्वारेन्टाइन निर्माणसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत हुने क्रममा रहेको जानकारी दिनुभएको थियो।उहाँले पर्सनल, प्रोटेक्ट इक्युपमेट (पीपीई) र थर्मल गनमा भइरहेको कालाबजारी रोक्न स्थानीय तहले अनुगमन गर्नुपर्ने धारणा राख्नुभएको थियो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शक्यले आइसोलेसन र क्वारेन्टाइन बनाउने स्थल उपलब्ध गराउने विषयमा सबै मेयर तयार भएको धारणा राख्नुभयो। ललितपुर महानगपालिकाका मेयर चिरिबाबु महर्जनले आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्न सहज नभएको बताउँदै जनताको सुरक्षाको विषयलाई समेत ध्यानमा राख्नुपर्ने सुझाव दिनुभयो।

उपत्यकाका १८ वटै मेयरका साझा धारणाबारे जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘संक्रमितलाई छुँदा, नजिक बस्दा र निजले प्रयोग गरेको सामग्री चलाउँदा यो रोग सर्नसक्ने अवस्थामा घना बस्ती भएको स्थानमा आइसोलेसन र क्वारेन्टाइन बनाउने कि नबनाउने भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्दछ।’

कीर्तिपुरका मेयर रमेश महर्जनले तत्काल आइसोलेसन बनाउने विषयमा सोच्नुपर्ने बताउँदै भन्नुभयो– ‘स्थानीय तहले भ्याएसम्म क्वारेन्टाइन निर्माण गर्नेछौं तर जनताको हितका लागि आइसोलेसन कक्ष निर्माण गर्ने विषयमा पुनः छलफल गर्नुपर्ने अवस्था आउँछ।’

बैठकमा उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ नगरपालिकाका मेयरहरूको उपस्थिति रहेको थियो।अधिकांश नगरपालिकाले आफ्नो क्षमताअनुसार क्वारेन्टाइन र आइसोलेसन कक्ष बनाउने जनाउँदै यसबाट बच्न उपत्यकाका सबै स्थानीय तहले सबै वडामा स्वाथ्य स्वयंसेवक परिचालन गरी मास्क, सेनिटाइजरलगायत सामग्री वितरण गर्दै आएको बताएका थिए।

उनीहरूले घरदैलो कार्यक्रम गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने लगायतका सामाजिक काम गरिरहेका छन्। काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ। ललितपुरले एक साता अघिदेखि माइकिङ गर्दै आफैँले मास्क र सेनिटाइजर बनाएको छ।