लन्डनमा नेपाली चेलीको रोदन : सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै सचेत रहन भगवतीको आग्रह

0
Shares

सञ्जयभक्त कँडेल, लन्डन।

बेलायतको लन्डनमा बस्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेकी छन्। कोभिड–१९ पोजिटिभ देखिएपछि सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी हुन्। सामाजिक सञ्जालमा आफ्नो फोटो र स्ट्याटस पोस्ट गर्दै उनले सबैलाई सचेत बन्न पनि आग्रह गरेकी छिन्।

उनले यो संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी छिन्। उनले अरू सबै सचेत बनून् र यो पीडा अरूले भोग्नुनपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको बताएकी छिन्।

लमजुङ तारकुघाटकी रानाभाटले लेखेकी छिन्– ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै छु। यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाँटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाइलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचें सबैले सावधानी अपनाउन सक्नुहुनेछ। हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध।’

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन्।उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ।

पारिवारिक स्रोतका अनुसार उनी फागुन २५ गते दिउँसो लन्डनको भेन्यु फाइभमा आयोजित अन्तर्र्रािष्ट्रय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन्। त्यसको भोलिपल्टदेखि उनलाई उच्च ज्वरोले सताएको थियो।

दुई हप्ताअघि बेलायत सरकारको आग्रहलाई बेवास्ता गर्दै अन्तर्राष्ट्रिय महिला दिवस तथा एनआरएनएले आफ्नो १५औं स्थापना दिवस मनाएको थियो। उनलाई त्यही दिवसमा भाग लिएदेखि कोरोनाको संक्रमण भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

यसैबीच बेलायतमा रहेका एक रेस्टुरेन्ट व्यवसायीलाई पनि कोरोनाको संक्रमण भएको पुष्टि भएको छ। यी युवा व्यवसायीसहित दुई नेपाली कोरोनाको संक्रमणमा परेका छन्।त्यसै गरी अपुष्ट समाचारअनुसार ६६ वर्षीय राई थरको कोरोनाको संक्रमणले मृत्यु भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन्।