क्वारेन्टाइन बस्नेहरुको मापदण्ड स्वीकृत

0
Shares

काठमाडौँ । 

नोभल कोभिड–१९ रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृति गरेको छ ।

समितिको आज बसेको बैठकले कोरोना भाइरससँग सम्बन्धित क्वारेन्टाइनमा राखिने व्यक्ति, पालना गर्नुपर्ने विधि, हुनुपर्ने पूर्वाधार, त्यहाँ सेवारत रहनुपर्ने चिकित्सक र गर्नुपर्ने सबै सुरक्षित उपाय अपनाउने गरी काम गर्न उक्त मापदण्ड स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा बलम्बुस्थित सशस्त्र प्रहरी नेपालको ‘डेडिकेटेड आइसोलेटेड’ अस्पताललाई कोभिड–१९ को रोकथाम नियन्त्रणको उपचारसम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी परिचालन गरी तत्काल शुरु गर्ने निर्णय गरिएको छ ।

त्यसका लागि रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । विदेशबाट हवाई मार्गमार्फत आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको र कसैले त्यसलाई उल्लङ्घन गरे कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आदेश भइसकेको पनि उहाँले बताउनुुभयो ।