सेवाग्राहीलाई मास्क र स्यानिटाइजर वितरण

0
Shares

शिक्षा पन्त, लमजुङ ।

सदररमुकाम बेसीशहर नगरपालिका वडा नं–८ भिमसेनस्थान चोक नजिकै रहेको जयलक्ष्मी सुनचाँदी पसलले कोरोना भाइरसबाट जोगिनका लागि आफ्ना ग्राहकलाई निशुल्क मास्क र सेनेटाइजर वितरण गरेको छ ।

जयलक्ष्मी सुनचाँदी पसलका संचालक बमबहादुर विश्वकर्माले आइतबार आफ्नो पसलमा सेवा लिन आएका सेवाग्रहीहरुलाई मास्क र सेनेटाइजर निशुल्क वितरण गर्नुभएको हो । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट सबैै त्रसित भइरहेको अवस्थामा सचेत रहन आग्रह गर्दै ग्राहकलाई पसलसम्म आउँदा सुरक्षित महसुस गराउन सेनेटाइजर र मास्क वितरण गरेको उहाँले बताउनुभयो ।

बजारमा सहज रुपमा मास्क र सेनेटाइजर नपाएको अवस्थामा पनि उहाँले आफ्ना सेवाग्राही र कर्मचारीलाई सतर्कता अपनाउँदै सुरक्षित रहन सेनेटाइजर र मास्क वितरण गर्नुभएको हो । आफ्नो पसलमा कार्यरत १५ जना कर्मचारी र करिव एकसय जना सेवाग्राहीलाई एक/एक थान सेनेटाइजर र मास्क वितरण गरेको उहाँले बताउनुभयो ।

बजारमा सहज रुपमा मास्क र सेनेटाइजर नपाउँदा सोचे जति वितरण गर्न नसकेको उहाँले बताउनुभयो । सुनचाँदी व्यवसायी महासंघले कोराना भाईरसबाट बच्न उच्च सतर्कता अपनाउँदै चैत १० गते बाट २१ गते सम्मका लागी सुनचाँदी व्यवसाय बन्द गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।

नेपाल सुनचाँदी व्यवसायी संघ लमजुङका तृतीय उपाध्यक्ष समेत रहनुभएका जयलक्ष्मी सुनचाँदी पसलका संचालक बमबहादुर विश्वकर्माले २०४५ साल देखि सदरमुकाम बेंसीशहरमा सुनचाँदीको व्यवसाय गर्दै आउनुभएको छ । उहाँले ग्राहकको माग लाई मध्यनजर गर्दै सुनचाँदी व्यवसाय सँगै २०७३ सालदेखि हिराको गहनाको पनि व्यवसाय गर्दै आउनुभएको छ ।