संक्रमण त्रासले घर फर्कँदा बाबु छोराको निधन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

सरकारले सोमबार चैत्र १० गते देखि उपत्यका भित्रने र बाहिरिने सवारी साधनहरुमा रोक लगाए पछि घर फर्कने लागेको परिवारलाई मिनी ट्रकले ठक्कर दिँदा घटनास्थालमै दुई जनाको निधन भएको छ भने एकजना घाईते भएका छन् ।

अरनिको राजमार्ग अन्र्तगत बनेपा नगरपालिका वडा नम्बर १३ स्थित भैसेपाटीमा बनेपाबाट साँगा जाँदै गरेको बा ५ ख २३९० नम्बरको आइचर ट्रक र काठमाडौंबाट उदयपुर तर्फ जाँदै गरेको बा ५७ प ७२८ नम्वरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार बाबु र छोराको मृत्यु भएको छ भने श्रीमती घाईते हुनु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका वडा न ४ का ३५ बर्षीय मीनबहादुर श्रेष्ठ र उहाँका ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले आइतबार विहान साढे ६ बजे दुर्घटना भएको जानकारी दिनु भयो । घाईते सुमिता श्रेष्ठको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । सुमिता मृतक मिनबहादुरको श्रीमती हुनुहुन्छ । उहाँको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ७ का ३३ बर्षीय लक्ष्मिनारायण श्रेष्ठ र ललितपुर हात्तिवन बस्ने गाडी साहु गंगा तिमिल्सिनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक तिमल्सिनाले जानकारी दिनु भयो ।