सिमा नाकामा कडाइका साथ चेकजाँच गर्न आठ दलको माग 

0
Shares

यमलाल भुसाल, बुटवल । 

विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) नेपाल भित्रिन नदिनकालागि आवश्यक पहलकदमी उठाउन बुटवलमा क्रियाशिल बिभिन्न राजनीतिक दलहरुले तीन तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुटवलमा कृयाशिल बिभिन्न राजनीतिक दलहरुले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि भारतीय सिमानाकामा आवतजावत व्यबस्थित र चेकजाँच व्यबहारिक हुन नसकेको भन्दै आवतजावतलाई अभिलेख राख्न र चेकजाँचलाई कडाईका साथ लागु गर्न आग्रह गरिएको हो ।

बुटवलमा क्रियाशिल राजनीतिक दलहरु नेपाली काँग्रेसका नगर सभापति खेलराज पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे, राप्रपाका नगर अध्यक्ष निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष तुलसीराम शर्मा, नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर बासी, नेकपा क्रान्तिकारी माओवादीका नगर इञ्चार्ज मानबहादुर कुवँर, राष्ट्रिय जनता पार्टीका नगर संयोजक राजेन्द्र अग्रहरी र समाजवादी पार्टीका नगर अध्यक्ष बामदेव भुसालले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि कोरोना संक्रमणको रोकथामकालागि आवश्यक कदम चाल्न स्थानीय प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराईएको हो ।

त्यस्तैगरी कोरोना भाईरस संक्रमितको उपचारकालागि सरकारी, सामुदायिक, नीजि क्षेत्रका अस्पतालहरु तथा क्लिनिकहरुमा निःशुल्क चेकजाँच तथा उपचारको व्यबस्था मिलाउन समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ । त्यस्तैगरी भिडभाडलाई निरुत्साहित गर्न, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको उपाय अवलम्बन गर्दै रोकथामका उपचारकालागि जवाफदेही हुन समेत अपिल गरिएको छ ।

त्यस्तै आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संक्रमणको कारण र निराकरणका उपायतर्फ जोडदिन तथा अनावश्यक भ्रम र त्रास सिर्जना नगर्न पनि अपिल गरिएको छ ।

संक्रमणका कारण मुलुक आक्रान्त भएको मौका छोपी उपभोग्य बस्तुमा कृतिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने जस्ता अमानवीय तथा गैर व्यबसायिक कार्य नगर्न अपिल गर्दै कसैले त्यस्तो अनुचित कार्य गरेमा कडा भन्दा कडा कारवाही गर्न समेत सरकारको ध्यानाकर्षण गराईएको छ ।