गुप्तेश्वर क्याम्पसको तालाबन्दी खुल्यो, असार सम्ममा तलब दिने सहमति

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत । 

पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीहरुले क्याम्पस प्रशासनमा लगाएको तालाबन्दी पाँच दिनपछि खुलेको छ ।

क्याम्पस सञ्चालक समिति र आन्दोलनरत प्राध्यापक तथा कर्मचारीका बिच शुक्रबार भएको वार्तामा माग पुरा गर्ने सहमति पछि तालाबन्दी खुलेको हो । ९ महिना देखि तलब नपाएको र प्राध्यापकहरुको सेवा सुविधामा विभेद गरेको लगायतको माग राखेर चैत्र ३ गते देखि क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए ।

क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीको बाँकी तलब आबधिक रुपमा भुक्तानी गर्ने सहमति भएको छ । बाँकी रहेको ६ महिनाको तलब एक महिना भित्र स्रोत ब्यबस्थापन गरेर भुक्तानी गर्ने र बाँकी तलब असार सम्ममा भुक्तानी गरि सक्ने सहमति भएको प्रध्यापक संघका अध्यक्ष दिपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । ‘बाँकी रहेको तलब आबधिक रुपमा भुक्तानी गर्ने सहमति भएको छ ।’ उहाँले भन्नुभयो, ‘ क्याम्पसको भौतिक तथा शैक्षिक बिकासका लागि एक भएर अघि बढ्दै बर्षदिन भित्र क्युए प्रमाणपत्र लिने गरि अघि बढ्छौ।’

क्याम्पसमा अध्यापनरत २२ जना प्राध्यापक र ५ कर्मचारीहरु तलब माग्दै आन्दोलनमा छन । क्याम्पसमा छोटो अवधि सम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधा र २० बर्ष सम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधामा समेत विभेद रहेकोमा अब सबैलाई सुबिधामा बिभेद नगर्ने सहमति समेत भएको अध्यक्ष न्यौपानेले बताउनुभयो । अस्थायी प्राध्यापकहरुलाई क्याम्पसको बिनियम शंसोधन गरि स्थायी गर्ने सहमति पनि भएको छ ।

तालबन्दी पछि सोमबारदेखि क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्य प्रभावित बनेका थिए । तालाबन्दी गरेपनि प्राध्यापकहरुले अध्यापन कार्य भने रोकेका थिएनन ।