चिडियाघर सुनसान, सबै संग्रहालय बन्द


ईश्वरराज ढकाल, काठमाडौं

सरकारले भीडभाड गर्ने स्थल बन्द गर्न निर्देशन गरेलगत्तै हिजो बिहीबार चिडियाखाना प्रायः सुनसान देखिएको थियो भने उपत्यकाका अधिकांश संग्रहालय बन्द प्रायः भएका थिए।

भीडभाड हुने धेरैजसो स्थान सुनसान थियो। कोरोना भाइरसको संक्रमण हुनसक्ने त्रासले चिडियाखानालगायत सबै मनोरञ्जनस्थल खाली भएका थिए। लगत्तै दिउँसो तालुकदार मन्त्रालयले आज शुक्रबारबाट बन्द गर्ने निर्देशन दिएपछि सबै निकायले सार्वजनिक सूचना गरी चैत मसान्तसम्म बन्द गर्ने घोषणा गरेका छन्।

सदर चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले आजबाट चिडियाखाना बन्द हुने जानकारी दिँदै भन्नुभयो– ‘राष्ट्रिय प्रकृति संरक्षण कोषको बैठकले चिडियाखाना बन्द गर्ने सूचना पठाएपछि अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेका हौं।’

सदर चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले आजबाट चिडियाखाना बन्द हुने जानकारी दिँदै भन्नुभयो– ‘राष्ट्रिय प्रकृति संरक्षण कोषको बैठकले चिडियाखाना बन्द गर्ने सूचना पठाएपछि अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेका हौं।’

पछिल्लो एक सातादेखि चिडियाखानामा आउने अन्तरिक र बाह्य पर्यटकको संख्या घट्दै गएको थियो।

‘चाडवाड भएको बेला १० हजार र अन्य दिन कम्ती पनि करिब २ हजारले अवलोकन गर्ने चिडियाखानामा अहिले करिब ६ सय मात्रै पुगेको छ।’ –चालिसेले भन्नुभयो। उहाँले सरकारले अर्को निर्णय नगरेसम्मका लागि बन्द रहने जानकारी दिनुभयो।

यस्तै उपत्यकामा रहेका करिब एक दर्जन संग्रहालय करिब एक महिनाका लागि बन्द भएका छन्। हनुमानढोका दरबार संग्रहालय, पाटन दरबार संग्रहालय, भक्तपुर दरबार संग्रहालय, पचपन्ने झ्याले दरबार, छाउनी संग्रहालय, पर्यटन बोर्डमा रहेको जातीय संग्रहालय, नारायणहिटी दरबार संग्रहालयलगायत सबै बन्द भएका छन्।

नारायणहीटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले अर्को निर्णय नभएसम्म बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो।

संग्रहालयले वैशाख १ गतेदेखि श्रीसदन र गणतन्त्र स्मारक खोल्ने निर्णय गरेको थियो। अहिलेलाई सबै कार्यक्रम स्थगित गरेको उहाँको भनाइ छ। हनुमानढोका संग्रहालयका कर्मचारी मिठाराम पुडासैनीले हनुमानढोका र भर्खरै खुलाइएको गद्दी बैठकसमेत बन्द गरिएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘हनुमानढोकामा पूर्णरूपमा पर्यटकको आवतजावत बन्द गरेका छांै।’

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सम्पन्न बैठकले गरेको निर्णय कार्यान्वयन गर्न बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालय बसेको बैठकले संग्रहालय बन्द गर्न सबै कार्याललाई निर्देशन दिएको थियो।

बैठकमा संयोजक पोखरेलसमेत सहभागी रहनुभएको थियो। सो निर्देशनपछि आज शुक्रबारबाट सबै निर्णयको कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै सांस्कृतिक केन्द्रहरू, संग्रहालय तथा अभिलेखालय बन्द गर्ने निर्णय गरेको छ।

यस्तै सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानका सभाहलसमेत बन्द गर्ने निर्णय गरेको छ। महानगरको स्वामित्वमा रहेको राष्ट्रिय सभागृहको विषयमा कुनै निर्णय भएको छैन। बैठकले प्रज्ञा प्रतिष्ठानमा हुने सबै पूर्वनिर्धारित कार्यक्रमलाई समेत रोक लगाउने निर्णय गरेको छ।

नारायणहिटी र हनुमानढोका संग्रहालय विकास समितिले बिहीबारबाटै साबुनपानीले हात धुने, ताप मापन गन प्रयोग गरेर मात्रै कार्यालय प्रवेश गर्ने व्यवस्था गरेको छ। त्यस्तै सेनिटाइजर प्रयोग गरेपछि मात्रै कार्यालयमा प्रवेश गराउने व्यवस्था गरेको छ