विदेशमा काम गर्न जान नपाएकालाई स्वदेशमै रोजगार दिइने


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले कोरोना भाइरसका कारण काम गर्न विदेश जान नपाएका नेपाली कामदारलाई रोजगार प्रदान गर्ने भएको छ।

सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा विदेश काम गर्न जान नपाएकालाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने बताउनुभयो। ‘काम गर्ने चाहने व्यक्तिले नाम सूचीकृत गर्नुभयो भने सरकारले त्यस्ता व्यक्तिलाई रोजगार दिन्छ’ –मन्त्री खतिवडाले भन्नुभयो।

उहाँले अहिलेको अवस्थामा साना काम गर्न चाहनेलाई सरकारले रोजगार दिन सक्ने बताउनुभयो। तर टेबल वर्क मात्र गर्छु भन्नेलाई सरकारले रोजगारी दिन नसक्ने उहाँले बताउनुभयो।

विभिन्न मुलुकले नेपाली कामदारलाई मुलुक प्रवेशमा रोक लगाएपछि धेरै मानिसहरू प्रभावित भएका छन्। सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले आपूर्ति व्यवस्थापन, तथा व्यवसायीलाई परेको अप्ठेरो हेरेर अर्थमन्त्रालयले काम गर्ने बताउनुभयो।

मन्त्री खतिवडाले सरकारले कोरोना भाइरस रोकथामका लागि १ महिनादेखि पूर्वतयारी गरेको जानकारी दिनुभयो। सरकारले सुरुमा हवाइमार्ग व्यवस्थापन गर्दै हालसम्म १ सय ४१ सिमा स्थलमार्गमा सवाधानी अपनाइएको जानकारी गराउनुभयो।

यसका साथै आईसीयू बेड, स्वास्थ्यकर्मीलाई चाहिने उपकरण, औषधी, क्वारेन्टाइन, आइसोलेसन वार्डको व्यवस्था गरिएको उहाँले बताउनुभयो।

कोरोना रोकथामका लागि निजी स्वास्थ्य संस्था, सुरक्षाकर्मीलाई आग्रह गरेको पनि उहाँले जानकारी दिनुभयो। छिमेकी देशले उपकरण तथा प्राविधिक सहयोग गर्ने बताएको उल्लेख गर्दै बजार व्यवस्थापन गर्न कालोबजारी गर्नेलाई समातिरहेको उहाँको भनाइ थियो।

कोरोनाबाट सबैभन्दा छिटो पर्यटन व्यवसाय, हवाई क्षेत्र, होटल, ह्यान्डीक्राफ्ट व्यवसाय प्रभावित भएको बताउँदै छिट्टै पर्यटन व्यवसाय आफ्नै लयमा फर्कने विश्वास व्यक्त गर्दै उहाँले फ्रेबुरी र मार्चमा भएको पर्यटनको क्षतिलाई अफसिजनमा छिमेकी देशबाट पर्यटक ल्याएर पूर्ति गरिने बताउनुभयो।

होटल व्यवसायीलाई ऋण तथा अन्य वित्तिय समस्या समाधान गर्न सरकारले गृहकार्य गरिरहेको मन्त्री खतिवडाको भनाइ छ।