आगलागी हुँदा ४ घर नष्ट


खोटाङ, (नेस)
आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्। बच्चाहरूले खेलाएको आगोबाट हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारका लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो।
आगलागीमा झनबहादुरको अनुमानित ८ लाख, लोकेन्द्र र जोखेको ५/५ लाख र सीतादेवीको करिब ४ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट विस्थापित परिवारलाई बुधबार हलेसी तुवाचुङ नगरपालिकाले खाद्यान्न तथा बन्दोवस्तीका सामान प्रदान गरेको छ। आगलागी पीडितलाई नगरपालिकाका तर्फबाट जनही २० केजीका दरले चामल, दाल, नुन, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बललगायतका राहत सामग्री प्रदान गरिएको मेयर इवन राईले बताउनुभयो।
यस्तै, सल्लेस्थित वडास्तरीय विपद् व्यवस्थापन कोषबाट वडाध्यक्ष काशिराज राईले अग्निपीडितलाई प्रतिपरिवार ३ हजारका दरले रकम प्रदान गर्नुभएकोे छ।
स्थानीय दूधकोसी युवा क्लबले पनि आगलागीबाट विस्थापित परिवारका लागि अस्थायी आवास एवं खाद्यान्न सहयोग गरेको जनाइएको छ। आगलागीमा परी धनमाल नष्ट भएपछि पीडित परिवारको बिचल्ली भएको छ।