किमद्वारा स्वास्थ्य उपचारको अभाव स्वीकार 


सोल, (एजेन्सी)

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नो मुलुकमा आधुनिक चिकित्सा सुविधाको अभाव रहेको स्वीकार्दै मंगलबार स्वास्थ्य क्षेत्रमा तत्काल सुधार ल्याउन निर्देशन दिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

खाद्यान्नसमेत अभाव रहेको तथा विश्वबाट एक्लिएको कम्युनिस्ट राष्ट्र उत्तर कोरियामा हाल विश्वमै कोरोना भाइरस अर्थात् कोभिड –१९ को महामारीको सन्त्रास फैलिरहेको बेला किमको यो प्रतिक्रिया सार्वजनिक भएको हो।

अन्य मुलुकका स्वास्थ्य विशेषज्ञहरूले उत्तर कोरियामा स्वास्थ्य स्याहार पूर्वाधार पुरानो शैलीको र चिकित्सकीय सुविधाको अत्यन्तै अभाव भएका कारण त्यहाँ यो महामारी निकै दुखान्त हुन सक्ने चेतावनी दिँदै आएका छन्। एउटा नयाँ अस्पतालको निर्माण कार्य आरम्भ गर्ने क्रममा किमले मुलुकको वास्तविकता स्वीकारेका हुन्।

उत्तर कोरियाले कोरोना भाइरसको सम्भावित महामारी रोक्न यथासम्भव प्रयासहरू गरिरहका छन्। अझैसम्म पनि प्योङयाङले भाइरस संक्रमित एकजना पनि फेला नपरेको दाबी गरेको छ। तर, थुप्रै विदेशी विशेषज्ञहरूले यस दाबीमाथि शंका गरेका छन्।

कोरियन सेन्ट्रल न्युज एजेनसी अर्थात् केसिएनएले किमलाई उद्धृत गर्दै गत डिसेम्बरमै पार्टीको बैठकमा उक्त अस्पताल निर्माणका लागि निर्णय भएको तथा जतिसक्दो चाँडै निर्माण सकिने जनाएको छ।