सरकार ! बाँचेर नमुना काम गर्न चाहन्छु 


भगवती तिमल्सिना, काठमाडौं । 

सामान्य परिवारमा जन्मेकी उनको लक्ष्य थियो जेटिए बन्ने, गाउँमै नमुना काम गर्ने अनि स्थानीय किसानलाई नयाँ कृषि विधि सिकाउने। यही दीर्घकालीन उद्देश्य लिएर जेटिए पढ्दै थिइन् उनी।

त्यतिमात्र होइन खेलमा पनि रुचि भएकाले गत वर्ष व्याकुल माइलाका नाममा स्थापित फुटबलमा दोस्रो स्थान हासिल गरेकी थिइन्। तर, उनी अर्थात् ओखलढुङ्गा जिल्लाको सोक्मटार हिलेपानी मानेभञ्ज्याङ–६ की सेमिका राईको त्यो जीवनयात्रामा अल्पविराम लागेको छ अहिले।

तीन महिना भयो उनी बिरामी भएर थलिएको। दर्जनौं अस्पताल धाउँदा पनि रोगको पहिचान हुन सकेको छैन। यसका लागि २ महिना त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र हुँदै १ महिनादेखि किस्ट मेडिकल कलेजमा नेफ्रोलोजी विभागका डा. सागरबाबु श्रेष्ठकहाँ पुग्दा मृगौलामा संक्रमण हुनुका साथै शरीरमा रगत कम भएको, उच्च रक्तचाप, थाइराइड, मुख तथा शरीर पूरै सुन्निएको थियो।

निरन्तर उपचारपछि अहिले केही सुधार आए पनि रोग पत्ता लगाउन नसकेको डा. श्रेष्ठको भनाइ छ।
१७ वर्षीया सेमिका मृत्यु जित्न दैनिक २८ वटा औषधि खान विवश छिन्। आफन्त र अभिभावकको सान्त्वनाकै कारण बाँच्ने आशा लिएर मृत्युसँग लडाई लडिरहेकी छन्। तैपनि घरीघरी टिलपिलाउँछन्  उनका आँखा। सेमिकालाई चिकित्सकले बताएअनुसार उक्त रोगले मस्तिष्क, मुटु, कलेजो, फोक्सो, छाला, किड्नीलगायत जुनसुकै अ·प्रत्या· नष्ट गर्ने भएकाले शरीर बचाउनकै लागि यति धेरै औषधि खानुपरेको हो।

भावुक हुँदै उनी भन्छिन्– ‘बाँचेर देश र समाजका लागि काम गर्ने धोको छ। मेरा बुबाले उपचार खर्च जुटाउन सक्ने अवस्था छैन। अहिलेसम्म आफन्तले सघाउँदै आउनुभएको छ। सरकार ! बाँचेर यो देशका लागि नमुना काम गर्न चाहन्छु तर दातासँग हात फैलाएर के सम्भव होला ? ठूला नेता, प्रधानमन्त्री, राष्ट्रपतिहरूलाई त राज्यले नै उपचार खर्च व्यहोर्दोरहेछ। म जस्ता गरिबलाई सहयोग पनि नगर्ने रहेछ।’

अत्यन्तै विपन्न परिवार भएकाले सहयोगका लागि ब्याकुल माइलालगायतको टोली, दिदी, भिनाजु बिनोद मगर अहोरात्र खटिएका अझै रोग चिन्न सकिएको छैन। यद्यपि डाक्टरले स्टिमिक लुपुस इरोथोमेटोसस्को आशंकामा उपचार गरिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योजना शाखा प्रमुख एवम् प्रवक्ता डा. विकास देवकोटा सेमिकाको उपचारमा सरकारले सहयोग गर्नुपर्ने भनाइ छ।

उनका भिनाजु बिनोद मगरका अनुसार बिरामीको अवस्था अत्यन्तै नाजुक भएको छ। मुख्य अंगले काम गर्न छोडी रगतको मात्रा कम हुने, ज्वरो, ग्याष्ट्रिक, मुखमा खटिरा, अपच, अमनलगायत आधा दर्जन रोगको एकसाथ सङ्क्रमण भएको छ। मुटु, कलेजो, मस्तिष्क भने असर परेको छैन। सबै लागिपरेका छौँ तर केही सुधारको संकेत देखा परेकाले आशा जागेको छ।

उहाँ भन्नुहुन्छ– ‘केही सुधार भएमा आईसीयूमा राखेर डाइलसिस अथवा किमोथेरापीभन्दा कडा कम्तिमा ४ डोज भ्याक्सिन दिनुपर्छ, जसको मूल्य एक डोजकै रु. ५० हजार रुपियाँ बराबर पर्छ। तैपनि निको हुने ग्यारेन्टी छैन। औषधि चलाउनुबाहेक विश्वमै कुनै विकल्प छैन रे।’

राईका दिदी र भिनाजुले गला अबरुद्ध पार्दै भन्नुभयो– ‘यस्तै औषधि, अस्पताल खर्च, खानपान, शरीरमा प्रोटिनको मात्रा खेर गैरहेकाले त्यसको पनि उपचारका लागि पानी आदिको दैनिक रु. १० हजार खर्च भैरहेको छ। अब पुनः नयाँ औषधि चलाउन न्यूनतम ५ लाख रुपियाँ खोज्न निर्देश आइसकेको छ। अहिलेसम्म झण्डै तीन लाख खर्च भइसकेको छ।

उहाँहरूले सेमिकालाई बचाउन देश/विदेशमा रहेका नेपालीलाई अपिल गर्नुभएको छ। साथै, सहयोग गर्न चाहने मनकारी दाता ‘राष्ट्रिय बाणिज्य बैंक, ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ शाखा’ मा उपचारका प्रयोजनका लागि बिरामीका पिता दिलराम राईको नाममा खोलिएको चल्ती हि.नं. २४८०००१५८६६१० भएको जनाउनुभएको छ।